सुनको मूल्य बढेर उपभोक्ता मारमा, सरकारी ढुकुटीमा 5 हजार किलो सुन

सुनको मूल्य बढेर उपभोक्ता मारमा परे पनि सरकारको सम्पत्ति भने बढ्दै गएको छ । सरकारी ढुकुटीमा अहिले 5 हजार किलो सुन छ । सरकारसँग रहेको सुनको मूल्य एक वर्षमै करिब 7 अर्ब रुपैयाँले बढेको छ ।

          पछिल्लो एक वर्षमा सुनको औसत मूल्य (प्रतिदस ग्राम) 14 हजार रुपैयाँले बढेको छ । गत वर्ष यही बेला 30 हजार 9 सय (प्रतिदस ग्राम) रहेको सुन हाल 44 हजार 9 सय 25 रुपैयाँ पुगेको छ । हालको मूल्यअनुसार सरकारसँग करिब 22 अर्ब रुपैयाँको सुन छ ।

           सरकारले यस्तो सुन विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गर्छ । तर पछिल्ला वर्ष अधिकांश सुन ढुकुटीमै सम्पत्तिका रूपमा रहेको छ । सरकारले आफूसँग रहेको सुन विदेशमा लगानी गर्न र अन्तर्राष्ट्रिय मुद्रा कोषमा जम्मा गर्न प्रयोग गर्छ । यसबाहेक नोट छाप्न सुरक्षणका लागि पनि यसको प्रयोग गरिन्छ । तर नेपालले विदेशी मुद्रा मात्र कोषमा जम्मा गरेको छ । अर्कोतर्फ नोट छाप्दा सुरक्षणका रूपमा पनि नेपालले 2063 पछि सुनको प्रयोग गरेको छैन ।

           डलर कमजोर हुँदै गएपछि अर्थतन्त्रमा असर पर्न नदिन विश्वका शक्तिशाली मुलुकले सुन खरिद गर्ने गर्छन् । यसले सुनको माग बढ्छ । पछिल्लो समय अमेरिकाले ऋण लिन सक्ने दायरा फराकिलो बनाएपछि सुनको माग एकाएक बढेको हो ।