काठमाडौ – मनोज विके र सुदीप वज्राचार्यले इन्द्रचोक क्लब खुला फिडे रेटिङ चेसमा सोमबार अप्रत्याशित नतिजा निकालेका छन् । इन्द्रचोक क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा अनरेटेड मनोजले २०३६ रेटेड भेट्रान गणेशमान दुवालमाथि जित दर्ता गरे ।
त्यस्तै अर्का अनरेटेड सुदीपले २०३५ रेटेड झापाका नीरज निरौलालाई पराजित गरे । सेतो गोटी लिएर खेलेका गणेशमानले जित्ने हतारो गर्दा खेल गुमाउन पुगे । उनले आफ्नो ‘पावर’ निकाल्न भ्याएनन् । ध्रुवतारा क्लबका नीरजले बराबरीको स्थितिमा रहेको खेल गुमाउन पुगे ।
पहिलो चरणमा भक्तपुरका अर्का रेटेड प्रज्वलराज राजोपाध्यायले पनि हार बेहोरे । शीर्ष वरीयताका अन्य खेलाडीका लागि भने पहिलो चरण सहज रह्यो । नेपाल च्याम्पियन बद्रीलाल नेपालीले शीर्ष बोर्डमा प्रेमलाल महर्जनमाथि जित हात पारे ।
त्यस्तै कृष्ण थापा, फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ, मदनकृष्ण कायस्थ, नवीन तण्डुकार, राजेन्द्रप्रसाद श्रेष्ठ र फिडे मास्टर मनीष हमालले आ-आफ्नो खेलमा जित दर्ता गरे । कृष्णले मोहन अधिकारी, सुजेन्द्रले विपीन अमात्य, मदनकृष्णले कर्णबहादुर बस्नेत र नवीनले प्रवेश बस्नेतलाई हराए ।
यस्तै राजेन्द्रले लक्षु भण्डारी तथा मनीषले नवीनकुमार चौधरीलाई पराजित गरे । विजय डंगोलले भने सक्सेस श्रेष्ठमाथि विजय प्राप्त गरे । पहिलो चरणमा जित हात पार्ने अन्यमा रिजेन्द्र राजभण्डारी, राजन पुरी, प्रेमकृष्ण महर्जन र हेराकाजी महर्जन रहे । यस्तै पुरुषोत्तम चौलागाइ, उमेश सैंजू र माधव प्रधान पनि विजयी रहे ।



