आज हिन्दू नारीहरुको महान चाड हरितालिका तिज हर्षोउल्लासका साथ मनाइँदै


 

आज हिन्दू नारीहरुको महान चाड हरितालिका तिज हर्षोउल्लासका साथ मनाइँदैछ । विहानै उठी नुहाई धुवाई गरी चोखो बस्त्र लगाएर नजिकको शिवालयमा पूजाआजा गर्ने नारीहरुको विहानैदेखि घुईंचो लागेको छ ।

विवाहित महिलाले निराहार ब्रत बसेर शिवको पूजा गरे पतिको दिर्घायू हुने र अविवाहितले सुयोग्य बर पाउने धार्मिक विश्वास छ ।

पूजाआजा पछि तिज गीत गाउने र रमाइलो गर्ने गरीन्छ । तिजमा गाइने संगीनी गीत बढी चर्चित छ । कबतिजलाई महिलाहरुको मनको बह पोख्ने दिनको रुपमा लिइए पनि पछिल्लो समय तीज गीत मार्फत् राजनीतिक र साँस्कृतिक बिकृतिप्रति व्यङ्ग्य गर्ने र राष्ट्रियताको पक्षमा आवाज उठाउने गरिएको छ ।

आज दिनभर व्रत बसेर पूजाआजा गर्नुपर्ने भएकोले महिलाहरु हिजो रातिसम्म दरको रुपमा मिठा मिठा परिकार खाएका थिए ।

यसैबीच तिजकै उपलक्ष्यमा आज विहानै देखि देशभरका शिव मन्दिरहरुमा महिलाहरुको घुइचो लागेको छ ।

सौभाग्यको प्रतीक रातो कपडा, चुरापोते, गरगहना लगाएर पूजा गर्नेहरुको काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वरलगायत देशभरका शिवालयमा विहानैदेखि भीड लागेको छ ।