– हेराकाजी महर्जन
काठमाण्डौं भदौ १४ गते । इन्द्रचोक क्लब खुला फिडे रेिटंग बुद्धिचाल प्रतियोगिताको बुधबार तेश्रो दिन चौथौं र पाँचौं चरणका खेलहरु सम्पन्न भएका छन् । पाँचौं चरणको समाप्तिमा मछिन्द्र क्लबका रिजेन्द्र राजभण्डारी अपराजित रही पाँच अंकका साथ एक्लै अग्रस्थानमा रहेका छन् । उनले चौथौं चरणको खेलमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ र पाँचौं खेलमा राजेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गरेका थिए ।
त्यस्तै फिडेमास्टर मनिष हमाल र पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार ४.५ अंकका साथ संयुक्त रुपमा दोश्रो स्थानमा रहेका छन् । मनिषले चौथौं खेलमा ख्वप कलेज भक्तपुरका मदनकृष्ण कायष्ठसित बराबरी खेलेका थिए भने पाँचौंमा नेपाल च्याम्पियन बदि्रलाल नेपालीलाई पाखा लगाए । उता नविनले चौथौंमा पुरुषोत्तम चौलागाईंसित अंक बाँडेका थिए भने पाँचौमा हिमालयन चेस क्लबका प्रेमकृष्ण महर्जनलाई हराए ।
इन्द्रचोक क्लबद्धारा आयोजित प्रतियोगितामा मछिन्द्र क्लबका सुरविर लामा हेटौडाका कृष्ण थापा मखन चेस क्लबका सुजेन्द्रप्रसाद राजेन्द्रप्रसाद भक्तपुरका गणेशमान दुवाल र राजन पुरीले ४ अंक प्राप्त गरेका छन् । त्यस्तै अनरेटेडतर्फ कान्तिपुर चेस क्लबका लेखबहादुर थापा ४ अंकका साथ अग्रस्थानमा रहेका छन् भने आयोजक क्लबका पवन खड्का सुदिप बज्राचार्य सप्तरीका नविनकुमार चौधरी भेट्रान शुकदेब रघुबंशी र अन्नपूर्ण उमावि ज्याठाका १३ बर्षिय जेनिश थापाले समान तीन तीन अंक प्राप्त गरी संयुक्त दोश्रो रहेका छन् । जेनिशले पाँचौ चरणको खेलमा १६४२ रेटेड खेलाडी अनुप पोख्रेललाई पराजित गरी सनसनी मच्चाएका थिए ।
स्वीस लिग अनुसार ९ चरणको खेल हुने यस प्रतियोगितामा १६ जिल्लाका ६७ जना खेलाडीहरुको सहभागिता रहेको छ । कूल ५१ हजार नगद पुरस्कार रहेको यस प्रतियोगिताका भोली छैटौं र सातौं चरणका खेलहरु हुनेछन् ।