भद्रपुर – मुलुकभरिका मैथिल समुदायले आज धार्मिक एवं सांस्कृतिक चौंठचन्द्र पर्व तथा गणेश चतुर्थी उल्लासमय वातावरणमा मनाइरहेका छन् । भाद्र शुक्ल चतुर्थीमा चन्द्रमाको पूजा गरी यो पर्व मनाइने भएकाले यसलाई चौंठचन्द्र वा चोरचन पर्व भनिएको हो ।
वर्षभरि मिथ्या कलङ्कबाट जोगिन र गणेशको कृपा सदैव बनिरहोस् भन्ने उद्देश्यले गणेश र चन्द्रमाको विशेष पूजापाठ गरी यो पर्व मनाइने गरिन्छ ।
परापूर्वकालमा मिथिलाञ्चलका राजा हेमाङ्गद ठाकुर ज्योतिषसमेत भएकाले यो तिथिमा चन्द्रमा र गणेशको पूजा गरेमा विशिष्ट फल प्राप्त हुने प्रचार गरेपछि मैथिल समुदायले यो पर्व मनाउन थालेको जनविश्वास छ ।
यो पर्व सूर्यास्त भएपछि सुरु हुन्छ । पूजा गर्नुअघि मैथिलानीले आँगनमा चामलको पिठोको कलात्मक अरिपन बनाउँछन् । पूजाको सामग्रीमा चामल र गहुँको पिठोका विभिन्न पकवान बनाउनुका साथै केरा, नरिवल, फलफूल, मिठाइका साथै दही अरिपन गरिएको स्थलमा राखिन्छ ।
चौंठचन्द्र पर्वको पूजा गर्ने महिला वा पुरुषलाई दिनभरि उपवासमा बस्नुपर्छ । पूजाअर्चनाको तयारीपछि व्रत बस्नेले धार्मिक विधिपूर्वक गणेश, चन्द्रमाका साथै विभिन्न देवीदेवताको पूजा गर्छन् ।
पूजा सम्पन्न भएपछि परिवारका प्रत्येक सदस्यले प्रसाद राखिएका भाँडो हातमा उठाइ चन्द्रमाको दर्शन गर्छन् । यसअघि चन्द्रमाको दर्शन गरेमा मिथ्या कलङ्क लाग्ने किंवदन्ती छ ।
भविष्य पुराणमा उल्लेख गरिएअनुसार चन्द्रमालाई इष्टदेव गणेशले श्रापबाट मुक्त गरेपछि आजका दिन तिम्रो पूजा गर्नेहरू मिथ्या कलङ्कबाट बच्ने र कल्याण हुने वरदान दिएको उल्लेख छ ।
आफ्नो सुन्दरताको घमण्ड गर्ने चन्द्रमालाई गणेशले श्राप दिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । रातको समयमा आकाश मार्गबाट गणेश गइरहेको बेलामा गणेशको लम्बोदर रुप हेरेर चन्द्रमाले उपहास गरेका थिए ।
त्यसपछि, गणेश रिसाएर चन्द्रमालाई आफ्नो सौन्दर्यतामाथि घमण्ड भएको भन्दै तिम्रो कान्ति क्षय हुने र जोकोही तिमीलाई हेर्छ उसलाई मिथ्या कलङ्क लाग्छ भनेर श्राप दिएको भनिन्छ ।
चन्द्रमाको कान्ति क्षय हुन लाग्यो र कालो अनुहार भएपछि उनी सृष्टिकर्ता ब्रह्माको सल्लाहमा गणेशको घोर तपस्या गरेपछि गणेश प्रसन्न भएर चन्द्रमालाई श्रापबाट मुक्त गरेर वरदान दिएका थिए ।
भाद्र शुक्ल चतुर्थी तिथि विशेष पूजापाठ गरी चन्द्रमाको दर्शन गर्नेलाई मिथ्या कलङ्क लाग्ने छैन र मनोवाञ्चित फल प्राप्त हुने बरदान गणेशले दिएका थिए ।
धार्मिक ग्रन्थ भविष्य पुराणमा उल्लेख गरिएअनुसार भगवान कृष्णलाई पनि भाद्र शुक्ल चतुर्थीको राती चन्द्रमालाई हेरेपछि मिथ्या कलङ्कबाट प्रताडित हुनुपरेको थियो ।
नारदमुनीको सल्लाहमा भाद्र शुक्ल चतुर्थीका दिन कृष्णले चन्द्रमा र गणेशको पूजा गरेपछि मिथ्या कलङ्कबाट छुटकारा पाएका थिए ।
परापूर्वकालमा सत्राजितले सूर्यको तपस्या गरी वरदान स्वरुपमा प्राप्त गरेको स्यमन्तक मणि चोरीको मिथ्या आरोप कृष्णमाथि लागेको थियो । रासस



