– हेराकाजी महर्जन
काठमाण्डौं भदौ १५ गते । इन्द्रचोक क्लबको आयोजनामा संचालन भैरहेको खुला फिडे रेिटंग बुद्धिचाल प्रतियोगिताको चौथौं दिन छैटौं र सातौं चरणका खेलहरु सम्पन्न भएका छन् । सातौं चरणको समाप्तिमा काठमाण्डौं चेस क्लबका रिजेन्द्र राजभण्डारी सम्पूर्ण खेलहरु जितेर सात अंकका साथ एक्लै अग्रस्थानमा रहेका छन् । उनले छैटौं चरणको खेलमा फिडेमास्टर मनिष हमाललाई पन्छाए भने सातौंमा पूर्व नेपाल च्याम्पियन नबिन तण्डुकारमाथि कठीन जित हासिल गरेका थिए ।
त्यस्तै राजन पुरी ६ अंकका साथ दोश्रो स्थानमा रहेका छन् । उनले छैटौं र सातौं खेलमा क्रमशः भक्तपुरका गणेशमान दुवाल र कान्तिपुर चेस क्लबका लेखबहादुर थापालाई माथ गरेका थिए ।
त्यस्तै फिडेमास्टर मनिष हमाल नेपाल च्याम्पियन बदि्रलाल नेपाली र नविन तण्डुकार ५।५ अंकका साथ संयुक्त रुपमा तेश्रो स्थानमा रहेका छन् । मनिषले सातौं खेलमा हिमालयन चेस क्लबका प्रेमकृष्ण महर्जनलाई हराएका थिए भने बदि्रले पुरुषोत्तम चौलागाईं र भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठलाई हराएका थिए । नबिनले भने छैटौं चरणमा ओलम्पियाड सुरवीर लामालाई पाखा लगाएका थिए ।
स्वीस लिग ९ चरणको खेल हुने यस प्रतियोगितामा सातौं चरणमा अन्नपूर्ण उमावि ज्याठाका विजय डंगोलले २०६६ रेटेड पूर्व नेपाल दोश्रा कृष्ण थापालाई पराजित गरी सनसनी मच्चाएका थिए । उनको ५ अंक रहेको छ । उनीसँगै ५ अंक प्राप्त गर्ने अन्य खेलाडीहरुमा फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ राजेन्द्रप्रसाद सुरवीर ध्रुवतारा स्पोर्टिङ्ग क्लब दमकका निरज निरौला रहेका छन् ।
त्यस्तै अनरेटेडतर्फ ५ अंकका साथ आयोजक क्लबका सुदिप बज्राचार्य र लेखबहादुर थापा संयुक्त अग्रस्थानमा रहेका छन् । सुदिपले उत्कृष्ठ प्रदर्शन गर्दै भक्तपुरका उमेश सैंजू र विकास क्रलुजूलाई हराए भने लेखबहादुरले छैटौं खेलमा फिडेमास्टर सुजेन्द्रलाई स्तब्ध बनाएका थिए भने सातौंमा बराबरी खेलमा जित्न खोज्दा राजन पुरीसित हारेका थिए । त्यस्तै ४।५ अंक प्राप्त गर्नेहरुमा प्रेमकृष्ण महर्जन मदनकृष्ण कायष्ठ आशानारायण लवट श्यामसुन्दर श्रेष्ठ र पुरुषोत्तम चौलागाईं रहेका छन् ।