इलामको साँखेजुङस्थित हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रा.लि.ले अन्य उद्योगभन्दा झण्डै आठ गुणा बढी मूल्यमा किसानको हरियो चियापत्ती खरिद गर्ने गरेको छ ।
अन्य उद्योगले किसानलाई प्रतिकिलो 20 देखि 43 रुपियाँ दिइराखेको बेला हिमालयनले पत्तीको मूल्य प्रतिकिलो रु. दुई सय 25 दिने गरेको छ । हिमालयनले हृवाइट टी (सेतो चिया) तयार गर्न किसानलाई पत्तीमा बढी मूल्य दिएको हो । हृवाइट टी उत्पादन गर्ने हिमालयन नेपालको एक्लो उद्योग हो ।
अन्तर्राष्ट्रिय बजारमा हृवाइट टीको माग बढिरहेकोले किसानलाई पनि बढी मूल्य दिएको व्यवस्थापन पक्षले जनाएको छ ।हिमालयनले दुई वर्षअघि 100 र गएको वर्ष 125 रुपियाँमा किसानबाट हरियो चियापत्ती खरिद गर्ने गरेको थियो । हाम्रो हृवाइट टी अन्तर्राष्ट्रिय बजारमा बार्गेनिङ गर्नसक्ने अवस्थामा पुगेकोले यसलाई सुनिश्चित गरिराख्न नाफाको बढी हिस्सा किसानलाई दिन यसपटक हृवात्तै सय रुपियाँ बढाएको प्रबन्धक आरसी नेपालले बताउनुभयो।
हृवाइट टी तयार गर्नका लागि छुट्टै जातको बिरुवा जरुरी छैन।प्रशोधन गरिएको चियापत्तीको रङ सेतो हुनाले यसलाई हृवाइट टी भनिएको हो । यहाँ उत्पादित हृवाइट टी जर्मनी, क्यानाडा, फ्रान्सलगायतका मुलुकमा जान्छ । हिमालयनले चार वर्षअघिदेखि हृवाइट टी उत्पादन गर्न थालेको थियो । कारखानाले गत वर्षसम्म वार्षिक एक हजार पाँच सय किलो हृवाइट टी तयार गरेको थियो ।



