हिन्दू धामिर्क परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध सुरु

 हिन्दू धामिर्क परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्णप्रतिपदादेखि औंसीसम्म गरिने सोह्रश्राद्धमा आफ्ना परिवारका दिवंगत जेष्ठ सदस्यहरुको तिथिमा अन्नजल अर्पण तथा तर्पणादी गर्ने प्रचलन छ ।

 

चाडपर्व र यज्ञ गर्नुभन्दा पहिले पितृको पूजा गर्ने हिन्दू संस्कारअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । दशैं र तिहारको पूर्वसन्ध्यामा गरिने यस कार्यले पितृको उद्धार हुने र छोराछोरीलाई फलिफाप हुने जनविश्वास रहिआएको छ । आजदेखि १६ दिनसम्म गरिने भएर यसलाई सोह्र श्राद्ध भनिएको हो ।

 

यसैबीच मिथिलाञ्चल क्षेत्रमा आज टुहुरा पर्व मनाइदै छ । यो पर्वमा बावु आमा नहुनेले जनकपुरको पवित्र गंगासागरमा स्नान गरी मृतात्माको सम्झना गर्ने गर्छन् ।

 

हातका कुश लिएर जलाशयमा बसेर मृतात्मालाई अर्पण गर्ने चलन छ । आजका दिन हजारौको संख्यामा श्रद्धालु झक्तजनहरुले गंगा र धनुष सागरमा स्नान गरी पूजापाठ गर्ने गर्दछन् । धनुषामा रहेको जानकी, जनक, लक्ष्मण र राममन्दिरमा अर्पण दिन आउनेको घुइंचो लागेको छ । यसलाई ऋषि तर्पर्णी पूजा पनि भन्ने चलन छ ।