चीनको सस्तो सामाग्री उत्पादन गर्ने क्षमतामा विस्तारै ह्रास आउन थालेको थालेको छ । पछिल्लो समय श्रमीकहरुको बढ्दो ज्यालाका कारण चीनको उत्पादन लागत बढ्दै गएको एक प्रतिवेदनले देखाएको हो ।
केपिएमजिको प्रतिवेदन लाई उदृत गर्दै विविसिले जनाए अनुसार चीनमा दक्षिण पूर्विय एशियाली मुलुकहरुका तुलनामा ज्यालादर चार गुणा बढेको छ । चीनमा बढ्दो उत्पादन लागतको इन्डोनेशिया, बंगलादेश लगायका मुलुकले लाभ उठाइरहेको प्रतिवेदनमा जनाइएको छ ।
ज्यालादर अत्यधिक बढेतापनि पूर्वाधार र उत्पादकत्वका क्षमताका कारण भने चीनले सस्ता सामाग्रीको बजारमा प्रभुत्व भने कायमै राख्न सक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्व बजारमा घरायसी विद्युतीय सामग्री, फर्निचर लगायतको उत्पादनमा चीनको अझै पनि एक छत्र राज छ ।
प्रतिवेदनका अनुसार जुत्ता र लत्ता कपडाको उत्पादन भने एशियाका अरु मुलुकमा पनि विस्तार हुँदै गएको छ । इन्डोनेशियाले सन् २०१० मा जुत्ता निर्यामा ४२ प्रतिशतले बढाएर २ अर्ब अमेरिकी डलर बढीको निर्यात गरेको उल्लेख गरिएको छ । यस्तै बंगलादेशले यस बर्षको जुलाई महिना सम्ममा अन्तर्राष्ट्रिय बजारमा १८ अर्ब अमेरिकी डलर बराबरको पोसाक निर्यात गरेको केपिएमजिले जनाएको छ । दक्षिण एशियामा हाम्रो मुलुक पनि सस्तो ज्यालादर भएकै मुलुक हो ।
तर हामीले भने आफ्नो तुलनात्मक लाभको फाइदा उठाउन सकिरहेका छैनौ । यहाँ ज्यालादर सस्तो भएपनि श्रमीकको समस्या नै उद्योगको सबैभन्दा ठूलो टाउको दुखाई बन्दै आएको छ ।



