घरजग्गा करबापतको एक करोड रुपियाँभन्दा बढी रकम नतिरेको भन्दै युनाइटेड वर्ल्ड ट्रेड सेन्टर बन्द गराउने तयारी

त्रिपुरेश्वरस्थित युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि (युनाइटेड वर्ल्ड ट्रेड सेन्टर) ले लामो ताकेता गर्दा पनि घरजग्गा करबापतको एक करोड रुपियाँभन्दा बढी रकम नतिरेको भन्दै काठमाडौँ महानगरपालिकाले सेन्टरलाई बन्द गर्ने तयारी गरेको छ ।
स्थानीय स्वायत्त शासन ऐनअनुसार महानगरपालिकालाई बुझाउनुपर्ने उक्त रकम लामो ताकेता गर्दा पनि नबुझाएपछि महानगरपालिकाले सेन्टरलाई बन्द गर्ने तयारी गरेको महानगरपालिकाका कर अधिकृत रामप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सेन्टरले घरबहाल करबापतको रकम बुझाउन बाँकी रहेको, त्यहाँभित्र रहेका सबै व्यवसायीले व्यवसाय कर नबुझाएको आरोप महानगरपालिकाको छ । महानगरपालिकाले आइतबार सूचना प्रकाशित गरी तीन दिनभित्र घरजग्गा कर बुझाउन आग्रह गर्दै नबुझाएमा तालाबन्दी गर्ने बताएको छ । दसैँको मुखमा प्रकाशित महानगरपालिकाको सूचनाले वल्ड ट्रेड सेन्टरभित्रका व्यवसायीहरू अन्यौलमा परेका छन् ।
सेन्टरले भने त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त जग्गाको घरजग्गा कर त्रिविले नै बुझाउनुपर्ने अडान लिँदै आएको छ । सेन्टरले २५ वर्षको लागि भाडामा लिएको हो । महानगरपालिकाले भने भाडामा जसले लियो उसले कर तिर्नुपर्ने भन्दै कर असुलीको प्रक्रिया अगाडि बढाएको हो ।