दोलखा – अष्टमीको साँझ दोलखा बजारको राजकुलेश्वर तलेजु भवानीबाट बाजागाजासहित निम्तो गरेपछि भीमेश्वर मन्दिरमा नवमीको दिन बली पूजा खुलेको छ ।
परम्परा अनुसार देव र दानवको युद्धको निर्णायक दिन मानिने नवमीमा बली दिन विधिवत आव्हान गरेपछि दिनभर भीमेश्वरमा वोका, रागा र भाले वली दिने परम्परा छ । अघिल्ला बर्षहरु झै अष्टमीको साँझ युद्दका निम्ता दिने संकेत स्वरुप स्थानीय नेवार जातिका मानिसले बाजा बजाउदै बजार परिक्रमा गरेका थिए । भीमेश्वरमा वली दिनुको अर्थ दानवको नाश गरेको भन्ने भनाई छ ।
दोलखा बजार र आसपासका आएका दर्शनार्थीले हजारौ बोका बली चढाएको स्थानीय टिका नारायण प्रधानले जानकारी दिनुभयो । सर्वसाधरणले बली दिइसकेपछि नवमीको मध्यराती भीमेश्वर मन्दिर परिसरमा चारवटा रागाको घाटीको नशा काटी मार्ने चलन छ । कालरात्रीमा ती रागालाई राक्षसको प्रतीक मानेर बध गरिएको ठान्ने प्रचलन छ । युद्धको क्रममा बध गरिएका ती रागालाई टिकाको भोलीपल्ट खड्ग जात्रामा देखाइने चलन छ । नवमीको मध्य रातमा पनि दोलखा बजारका सबै शक्तिपीठ र कुल्यानहरुमा पशु बध गर्ने चलन छ ।



