काठमाडौं – बडादसैँको नवौँ दिन काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर बुधबार सर्वसाधारणका लागि खुला गरिएको छ। प्रत्येक वर्ष महानवमीको दिन सर्वसाधारणको दर्शनका लागि यो मन्दिर खुला गरिन्छ। तत्कालीन राजा महेन्द्र मल्लले वि.सं १६२० माघमा पेगोडा शैलीमा निर्माण गरेको तीन तल्ले यो मन्दिरभित्र देवी भवानी विराजमान छ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति, मखन महावीर क्लब, तारणी महावीर क्लब र स्थानीयवासीको सहयोगमा देवीको दर्शन गर्न आउने भक्तजनका लागि आवश्यक सेवाको प्रबन्ध गरिएको छ।
स्थानीयवासी राज्यलक्ष्मी श्रेष्ठले यो मन्दिरमा दर्शनका लागि आज करिब एक लाख भक्त आउने अनुमान गरिएको बताए।
यसैबीच हनुमानढोकाको मूलचोकमा कालरात्रिको अवसरमा गत राति ५४ वटा बोका र ५४ वटा राँगाको बलि दिइएको छ। रासस



