काठमाडौँ – बडादसैँको नवौँ दिन शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मनाइयो। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती, पुटित पाठ गरिन्छ।
शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ।
अधिकांश ठाउँमा महाष्टमीको दिन दसैँघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ।
पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ।
यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ।
महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ।
हनुमानढोकाको दसैँघरलगायत कतिपय समुदायले महाष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ-आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाए। रासस



