टीकाको शुभ साइत १०.३५ मा
असोज १९- नेपालीहरूको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ।
विजया दशमीका दिन आज बिहान ९.४५ बजे देवी विसर्जन र विहान १०.३५ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराईले बताए।
पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ।
विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजा अर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ।
आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद
रासस