यो वर्ष धानबाली अहिलेसम्मकै सबभन्दा धेरै फल्न सक्ने


 

– कुल गार्हस्थ उत्पादनमा ७ प्रतिशत योगदान दिने धानबाली यो वर्ष अहिलेसम्मकै सबभन्दा धेरै फल्न सक्ने कृषिविदहरुले बताएका छन्।

 

नौरथाका दिनहरुमा समेत वर्षेको पानी देशको प्रमुख खाद्यान्न बाली धान उत्पादनलाई वरदान सावित हुने देखिएको छ।

कृषि मन्त्रालयका अधिकारीहरुका अनुसार अबका दिनमा पानी परेन भने यो वर्ष नेपालीहरुले संभव: अहिलेसम्मकै धेरै धान भित्र्याउन पाउनेछन्।


राम्रो बालीले कृषकहरुको वर्ष दिन भरथेग गर्ने र राम्रो धान उत्पादनले देशकै अर्थतन्त्रलाई टेवा दिने बताइएको छ।


दशैंका बेला झुलिरहेका धानका बालामा पानी वर्षिँदा कतिपय पहडी भेगमा धान लडेर नराम्रो असर परेको भएपनि उत्पादनको मुख्य थलो तराईको धानलाई भने त्यसले असाध्यै राम्रो गरेको बताइएकोछ।


कृषि मन्त्रालयका प्रवक्ता डा हरि दाहाल यो वर्ष अहिलेसम्मकै सबभन्दा धेरै धान फल्न सक्ने बताउँछन्।


दाहाल भन्छन्, “पोहोर झण्डै ४५ लाख मेट्रिक टन फलेको थियो, नेपालमा धानको सबभन्दा ठूलो रेकर्ड भनेको ४५ लाख मेट्रिक टन हो यसपटक त्यो नाघ्न सक्छ।”


धान नेपालीहरुको साँझ विहानको प्रमुख खाद्यान्न मात्र होइन, यसले देशको अर्थतन्त्रमा समेत प्रत्यक्ष प्रभाव पार्दछ।


अर्थशास्त्री केशव आचार्य धान धेरै फल्नु भनेको देशको अर्थतन्त्र सप्रिनु हो भन्छन्।

 

आचार्यका अनुसार कुल गार्हस्थ उत्पादनमा धानले ७ प्रतिशत ओगट्छ।

दशैंका बेला पानी परे त्यसले धान मात्र होइन त्यसपछिका हिउँदे बालीपनि राम्रो हुने भन्दै तराईका कृषकहरु खुशी हुने गर्दछन्।


तराइमा जन्मेहुर्केका अर्थशास्त्री आचार्य भन्छन्, “नौरथामा पानी पर्नुलाई तराइमा किसानहरु हथिया भन्छन्, नौरथाको पानीले सहकाल ल्याउने र धान पछिको हिउँदे बालीलाई समेत राम्रो गर्ने किसानहरुको विश्वास छ।”


अधिकांश नागरिकको पेट पाल्ने मुख्य खाद्यान्न र मुलुकको अर्थतन्त्रमा समेत प्रत्यक्ष प्रभाव पार्ने धानखेतीको शैली भने नेपालमा अझै परम्परागत छ।

 

तराई र पूर्वका केहि ठाउँमा खेत ट्र्याक्टरले जोत्ने चलन शुरु भएपनि अधिकांश देश अझै पनि हलो र कोदालीमै आश्रित छ।

प्रवक्ता दाहाल रोपिएका बीउमा मलजल दक्षिण एशियाली मुलुकमा सबभन्दा कम नेपालमै रहेको बताउँछन्।

images

दाहाल भन्छन्, मलबीउ र स‌िंचाई उपयुक्त रुपमा गर्न सक्ने हो भने अहिलेको भन्दा दोब्बर धान फल्न सक्छ।


दोब्बर फलाउन पाए कृषि प्रधान देश नेपालको अर्थतन्त्र धानका आधारमा नै उकालो लाग्नसक्छ।

images