नायिका रेखा थापाको दर्शकलाई ‘दसैं उपहार’को रूपमा ‘अन्दाज’


 

काठमाडौ,  – नायिका रेखा थापाले हरेक दसैंमा नयाँ फिल्म रिलिज गर्दै आएकी छन् । गत वर्ष ‘कसले चोर्‍यो मेरो मन’ रिलिज गरेकी उनले यसपटक दर्शकलाई ‘दसैं उपहार’को रूपमा ‘अन्दाज’ दिएकी छन् ।

 

सोमबारदेखि मोफसलका सबैजसो हलहरुमा रिलिज गरिएको फिल्मको सोमबार बिहानै राजधानीमा पनि पि्रमियर सो पनि गरियो ।

 

यसपटक रेखालाई दर्शकले दुइटा भूमिकामा पाउनेछन्- सहरकी युवती र जोमसोममा हुर्केकी गाउँले युवतीको रूपमा । ट्रयाङ्गल लभस्टोरी रहेको फिल्ममा रेखा ‘प्रीति’ र ‘शीतल’को भूमिका छिन् । जीवन लुइँटेल र सविन श्रेष्ठ उनका प्रेमीका रूपमा छन् । सहरी युवती प्रीतिको भूमिकामा सुहाएकी रेखा जोमसोमकी सोझी युवतीको भूमिका पनि उत्तिकै खुलेकी छन् । गालाको कोठी मेटाएर जोमसोमे ठिटीको रूपमा प्रस्तुत हुँदा उनलाई दर्शकले ताली बजाउँछन् ।

 

जीवनको प्रेमिकाको रूपमा मध्यान्तरअघि देखिएकी उनी मध्यान्तरपछि भने सविनको प्रेमिकाको रूपमा छिन् । दुवै फरकफरक पात्र हुन् । अपराधीको गोली लागेर प्रीतिको मृत्यु भएपछि बिरक्तिएर जोमसोम पुगेका जीवनले उस्तै अनुहारका शीतल भेट्छन् र झुक्किन्छन् । फार मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माता अशोक शर्मा र कार्यकारी निर्माता छवि ओझा हुन् । उज्ज्वल पौडेलको निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, अमित श्रेष्ठ, कमलकृष्णले पनि खेलेका छन् । फिल्ममा विष्णु कल्पितको छायांकन लोभलाग्दो छ । संगीत वसन्त सापकोटा र द्वन्द्व राजेन्द्र खड्गीको छ ।

 

– कान्तिपुर