बौद्धमार्गी तथा तिब्बतीप्रति सहानुभूति राख्ने हलिउड अभिनेता रिचर्ड गेर काठमाडौंमा


 

– आशिष लुइँटेल, कान्तिपुर

 

काठमाडौ – बौद्धमार्गी तथा तिब्बतीप्रति सहानुभूति राख्ने हलिउड अभिनेता रिचर्ड गेर ‘निजी भ्रमण’का क्रममा काठमाडौं आएका छन् । बिहीबार आएका उनि खैरो कोठे सर्ट र खैरो पाइन्टमा देखिएका उनी रक्तचन्दन मालाको दाना गन्दै कफी पिइरहेका थिए । सेतो चश्मा लगाएका ६२ वर्षीय गेरसँग अरू दुई महिला गफ गर्दै थिए ।

‘नितान्त व्यक्तिगत भ्रमण,’ गेरले भने । संवाददाताले भ्रमणबारे थप जिज्ञासा राख्दा उनले नेपाल प्यारो लाग्ने भएकाले आएको बताए । ‘उहाँ नेपाललाई माया गर्नुहुन्छ,’ सँगै रहेकी उनकी सहयोगीले थपिन्, ‘नेपालमा घुम्दा आनन्द लाग्ने भएकाले आइरहनुहुन्छ ।’ थप अन्तर्वार्ताका लागि उनले अस्विकार गरे । ‘मलाई बैठकको लागि हतार छ,’ कफीको कपलाई टेबलमा राख्दै गेरले थपे, ‘धेरै कुरा नगरौं ।’

अमेरिककी म्यागजेनि पिपल्सले विश्वकै सबैभन्दा ‘सेक्सी पुरुष’को संज्ञा दिएका गेर युवतीहरूबीच निकै चर्चित मानिन्छन् । सन् १९७५ ‘डेज अफ हिभन’ (१९७८), ‘अमेरिकन जीगोलो’ (१९८०) र ‘एन अफिसर एन्ड जेन्टलम्यान’ (१९८२) उनको सबैभन्दा चर्चित फिल्महरू हुन् । गोल्डेन ग्लोब अवार्ड विजेता यी अभिनेता अहिलेसम्म ओस्कारका लागि मनोनयनमा परेका छैनन् ।

हलिउडका कलाकारले आफू यहाँ रहेको कुरा सार्वजनिक गर्न नचाहनु नौलो होइन । केही अघि अभिनेता लियानार्दो दि क्यापि्रया सुटुक्क नेपाल आएका थिए । उनी स्वदेश फर्किएपछि मात्रै यसबारे थाहा भएको थियो । त्यस्तै हिरोइन क्यामरन डियाज पनि ६ वर्षअघि चितवनस्थित टाइगर टप्स जंगल लजमा बसेर फर्किएकी धेरै पछि जानकारीमा आएको थियो ।

अंग्रेजी फिल्मप्रति धेरै नेपाली अभ्यस्त नहुनुलाई त्यसका कलाकारहरू फाइदाका रूपमा लिने गर्छन् । नेपाल आई घुमफिर गर्नुलाई उनीहरू ‘स्वर्गीय आनन्द प्राप्ति’को बाटो ठान्छन् । ‘यस्तो गजबको ठाउँ,’ गेरकी मुख्य सहयोगी बताउने ती महिलाले भनिन्, ‘कसैले नचिन्ने पनि, घुमफिर गर्न एकदमै सजिलो ।’ गेर होटलमा आउँदा धेरैले उनलाई चिनेनन् ।

बिहान लन्च सकेर आफ्नो कोठामा आराम गर्न गएका उनी खाजा खान होटलको गार्डेनमा आएका थिए । (उनी होटलको रोयल सुट कोठा नम्बर ४४४ मा बसेका छन् । यो कोठाको मूल्यप्रति रात १८ सय डलर तोकिएको छ ।) मुसुमुसु हाँस्दै उनकी सहयोगीलाई अंगालोमा बेर्दै हग गरेपछि उनी ४ कुर्सी भएको टेबलतिर गए र आफूले भिरिरहेको पहेंलो रंगको झोला टेबलमा राखे । सहयोगी सँगै रहेकी अर्की महिलासँग पनि अभिवादन साटफेर गरेपछि उनीहरू गफिन थाले । कफी पिउँदै गफिइरहेका उनीहरू धेरै समय हाँस्दै चोरी औला डड्याइरहेका देखिन्थे । उनलाई निकैबेरदेखि घोरिएर हेरिरहेको यो संवाददातालाई उनकी सहयोगीले ‘नमस्ते’ भन्दै ‘के हेरेको’ भनेझैं गरिन् । ‘तपाईं रिचार्ड गेर होइन ?’ भन्दै संवाददाता उनी भएछेउ पुगेपछि उनले सामान्य प्रतिक्रिया स्वरूप ‘हो,’ मात्रै भने । त्यसपछि फेरि संवाददाता अन्तै कतै हेरेजसरी टहलिएपछि उनीहरू आपसमा उस्तैगरी भलाकुसारीमा जुटे । गार्डेनमा आउ जाउ गर्ने कसैले पनि उनीहरूलाई मतलब गरेका देखिएन ।

‘तपाईंले भनेपछि पो थाहा भयो,’ कफी सर्भ गरिरहेका वेटरले आश्चर्यता प्रकट गर्दै भने, ‘यहाँ विदेशीहरू धेरै आउन्, को हिरो को के थाहै नहुने ।’ उनले गेर हलिउड अभिनेता भएको थाहा पाएपछि निकैबेर घोरिएर हेरेका थिए । ‘कहिल्यै (अंग्रेजी फिल्म) हेरेको भए पो,’ उनले आँखीभौं झिमझिम पार्दै कफी प्लेट उठाएका थिए ।

‘सुटुक्क’ काठमाडौं छिरेका गेरलाई कान्तिपुर संवाददाताले एकछिन पछि फ्यान’ भनी गफ थाल्दा ‘वाउ, धेरै खुसी लाग्यो,’ भन्दै संवाददाताको कुममा धाप मारेका थिए । र, कुरा गर्न उत्साहितझैं देखिन्थे । तर अखबारका लागि अन्तर्वार्ता दिन भने उनले अस्विकार गरेका थिए । ‘धेरै हल्ला नगरौं,’ उनले संवाददाताबाट टाढिँदै भने, ‘कृपया म आएको बारे कसैलाई थाहा नहोस् ।’

४ वर्षअघि एचआईभी एड्सबारे चेतना फैलाउन भारतको जयपुरमा आयोजित र्‍यालीमा सहभागी भएका गेरलाई भारत-नेपाल शुभ चिन्तकका रूपमा लिइन्छ । र्‍यालिपछि स्थानीय ट्रक ड्राइभरहरूलाई ‘कन्डम कसरी प्रयोग गर्ने’ भनी टेलभिजन च्यानलबाट गरिएको चेतनामूलक ‘लाइभ’ कार्यक्रममा बलिउड अभिनेत्री सिल्पा शेट्ठीको गालामा सार्वजनिक चुम्बन गरेका थिए । यही घटनालाई लिएर स्थानीय अदालतमा उनीविरुद्ध मुद्दा चलाइए पनि पछि उनकै पक्षमा फैसला सुनाइएको थियो । त्यसयता उनी मिडियाप्रति खुलेर बोल्दैनन् । ‘उहाँलाई मिडियाको कुनै लोभ छैन,’ ती सहयोगी गेरसँग गरिएको कुराकानी सार्वजनिक नगर्न अग्रह गर्दै होटल गेट बाहिरसम्म संवाददाताको हात समाउँदै आइन् र थनिन्, ‘बरु हामी र्फकने बेला तपाईंलाई भेटौंला ।’ यद्यपि उनीहरू कहिले फर्किने भन्नेबारे खुलाएनन् । ‘भोलि पनि जान सक्छौं,’ ती सहयोगीले भनिन्, ‘तर हामीलाई अझ घुम्न मन छ ।’ तिब्बतीहरूका कट्टर समर्थक उनी चीनविरोधी अभियानमा सक्रिय छन् । उनको अगुवाइमा सन् १९९१ मा खुलेको ‘गेर फाउन्डेसन’ले अभियानलाई साकार पार्ने भन्दै तिब्बतीहरूलाई सहयोग गर्दै आएको छ । कतिसम्म भने सन् १९९३ मा चीनविरोधी अभिव्यक्ति दिएको भन्दै ओस्कारमा उनको मनोनयन नै जफत गरिएको थियो ।

धार्मिक गुरु तथा तिब्बती आन्दोलनका अगुवा दलाई लामालाई न्युयोर्क र वासिङटन भ्रमणमा सघाउँदै आएका गेरले सन् १९७८ मा पहिलोपल्ट नेपाल आउँदा तिब्बतीहरूलाई भेटेका थिए । बौद्ध धर्मबाट प्रभावित उनी त्यही बेलादेखि तिब्बतीप्रति नजिकिएका बताइन्छ । नेपालमा भइरहेका चीनविरोधी गतिविधिमा उनको ठूलै हात रहेको जानकारहरू बताउंँछन् । ‘उनले धेरै (सहयोग) गरेका छन्,’ एक जानकार कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा दाबी गरे, ‘यसपालि नेपाल आउनुको कारण तिब्बतीहरूको कुनै कार्यक्रममा सहभागी हुनु नै हो ।’ गेरले आफ्नो छोरा जेम्सको थर समेत तीब्बती (जिग्मे) राखेका छन् ।