नेपाल संवत्‌‌को नयाँ वर्षमा बसन्तपुरबाट सांस्कृतिक र्‍याली, खुलामञ्चमा सभा

काठमाडौँ – तीन वर्षअघि सरकारले राष्ट्रिय संवतको मान्यता दिइसकेको नेपाल संवत ११३२ नयाँ वर्षको दिन बिहीबार बसन्तपुर डबलीबाट विभिन्न बाजागाजासहित सांस्कृतिक टोलीले काठमाडौँको विभिन्न भाग परिक्रमा गरी खुलामञ्चमा आमसभा गर्ने भएको छ। यसअघि बसन्तपुरमा सभा हुने गर्थ्यो।

नेपाल संवत् राष्ट्रिय न्हूदँ समारोह समितिका अध्यक्ष पद्मरत्न तुलाधरले नेपाल संवत् राष्ट्रिय संवतका रूपमा घोषित भइसकेको परिप्रेक्ष्यमा नववर्ष ११३२ लाई व्यापक जनसहभागिताका साथ मनाउनका लागि नेपालका सबै जातजाति, भाषाभाषीका साथै राजनीतिक दल, औद्योगिक र व्यावसायिक क्षेत्रका प्रतिनिधि, पत्रकार, कानुनव्यवसायीको सहभागिताका लागि प्रेस वक्तव्यमार्फत आग्रह गरेका छन्।


सोही उपलक्ष्यमा नेवाः भोलियन्टियर्सको आयोजनामा हुने मोटरसाइकल र्‍यालीले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न भागको परिक्रमा गर्नेछ।


यसै उपलक्ष्यमा मध्यपुर थिमिमा नेपाल संवत् ११३२ न्हूदँ ग्वसा खलःको आयोजनामा यही कात्तिक ९ गते लक्ष्मीपूजाको दिन सुकुन्दा र्‍याली तथा कात्तिक १० गते मोटरसाइकल र्‍याली हुनेछ।


देशका विभिन्न भागमा पनि नेपाल सं‍वतको नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम हुने समितिले जनाएको छ।

 

– नागरिक