तिहारको अवसरमा पोखरामा मात्रै एक करोड रुपैयाँ भन्दा बढीको फूलको ब्यापार

तिहारको अवसरमा पोखरामा मात्रै एक करोड रुपैयाँ भन्दा बढीको फूलको ब्यापार भएको छ । फ्लोरिकल्चर एसोसिएसन कास्कीका अध्यक्ष सिकन्दर गुरुङले पोखरामा तिहारको बेलामा फूलको ब्यापार ह्वात्तै बढेको र त्यहाँको उत्पादनले नपुग्ने भएपछि भारतबाट ३० हजार गोटा सयपत्री फूलको माला ल्याएको बताउनु भयो । एशोसियसनमा आवद्ध नभएका ब्यापारीहरुले पनि आफ्नै किसिमले फूल खरिद गरिरहेकाले कारोबार अझै बढी हुन सक्ने पनि बताइएको छ धादिङ्गबाट गाडीभरि फूल लिएर पोखरा पुगेका शम्भु श्रेष्ठले ५० हजार रुपैयाँ बराबरको फूल ल्याएको जनाए ।


उनले पाँचवटा माला बराबरको झुप्पालाई ५ सय रुपैयाँ पर्ने बताए । तिहारको बेलामा फूलको ब्यापारमा हुने अस्वस्थ प्रतिष्पर्धालाई रोक्न एसोसिएसनले एउटा मालालाई २५ देखि ४० रुपैयाँ सम्ममा बिक्री गर्ने जनाएको छ । उता सुदूर पूर्वी जिल्ला पांचथरमा भने व्यापारीहरुले भारतबाट ल्याइएको फूलको माला प्रतिगोटा एक सय देखि २ सय ५० रुपैयाँ सम्ममा विक्री गरिरहेका छन् ।