
उदार मनका साथ प्रचूर प्रचारप्रसार गरिए पनि रेकर्ड राख्ने कमाइ गर्न नसक्नु फिल्मको दुर्भाग्य हो भने ठूलो जोखिमका साथ लगानी गरिएको फिल्मले समालोचक र दर्शकबाट समेत मिश्रति प्रतिक्रिया पाएको छ । तर स्पेसल इफेक्टको प्रयोगका कारण पनि ‘रा.वन’ बलिउड इतिहासमा प्राविधिक रूपमा निकै सबल फिल्म हो । त्यस हिसाबले पनि दर्शकले फिल्मलाई साथ भने दिइरहेका छन् । भाइटीकाको अघिल्लो दिन फिल्मले पहिलो दिनको तुलनामा झन्डै सात करोड भारु बढीको व्यापार गरेको छ । २५ करोड १० लाख भारु कलेक्सन गरेको उक्त दिनको आम्दानीले भने ‘रा.वन’ लाई नयाँ रेकर्ड दिलाएको छ ।
अहिलेसम्म भारतमा कुनै पनि फिल्मले एकै दिन यति धेरै कमाइ गर्न सकेका थिएनन् । टीकाकै दिन केही खुम्चिएको ‘रा.वन’ को बक्स अफिस रिपोर्टले ब्लकबस्टर्स हिट भनिएको ‘बडी गार्ड’ ले राखेको तीन दिनको सर्वाधिक कमाइको रेकर्डलाई भने मुस्किलले मात्रै उछिनेको छ । ५३ करोडको व्यापार गरेको ‘रा.वन’ को रिपोर्ट ‘बडी गार्ड’ को भन्दा ४० लाख भारु मात्रै बढी छ । ३५ सय स्वदेशी हलमा रिलिज गरिएको ‘रा.वन’ लाई झन्डै २७ हलमा रिलिज गरिएको ‘बडी गार्ड’ कै रेकर्ड तोड्न धौधौ परिरहेको छ । तर ‘रा.वन’ को कलेक्सन भने ‘बडी गार्ड’ जसरी पछिल्ला दिनमा खासै कम देखिएको छैन ।



