सार्क टि २० कप क्रिकेटमा नेपालको पहिलो जित भारत ६ विकेटले पराजित

१७ कात्तिक, काठमाडौं । मालदिभ्समा जारी २५ वर्ष मूनिको सार्क टि(२० कप क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोश्रो खेलमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल चम्किएपछि नेपालले भारतमाथि ६ विकेटले जित हात पारेको हो ।
भारतको प्रतिनिधित्व गरेको क्षेत्रिय टिम कर्नाटक ईन्स्टिच्यूट अफ क्रिकेटको टोलीले जितका लागि दिएको २ सय १९ रनको लक्ष्य नेपालले अन्तिम बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।
कप्तान पारसले अन्तिम बलमा छक्का प्रार गर्दै नेपालको जित सुनिश्चित गरे । उनी ६३ रनमा अविजित रहे । तीन विकेट पनि लिएका पारस म्यान अफ द म्याच पनि भए । त्यस्तै ज्ञानेन्द्र मल्लले ५६ रनको योगदान गरे ।
यसअघि पहिला ब्याटिङ गरेको कर्नाटक ईन्स्टिच्यूट अफ क्रिकेट टिमले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । कुनै समय तीन विकेटको क्षतिमा ३७ रन बनाएको भारतको पारीलाई राहुल र निसान्तको जोडीले विस्फोटक व्याटिङ गर्दै उकासेको थियो । राहुल सतक पुरा गर्नबाट एक रनले चुकेका थिए ।
उनी ९९ रनमा अविजित रहे भने निसान्त ४३ रनमा आउट भए । नेपालले अब शनिबार समूह चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानसँग खेल्ने छ ।