सार्वजनिक यातायातको भाडा ९.९% ले बढ्यो, काठमाडौँमा न्यूनतम १३ रुपैयाँ

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थ र पार्टपुर्जाको मूल्य बढेको जनाउँदै सात महिनामै सार्वजनिक यातायातको भाडा ९ दशमलव ९ प्रतिशतले बढाएको छ। सार्वजनिक यातायातका यात्रुले बिहीबारदेखि बढेको भाडा तिर्नुपर्नेछ।


‘बिहीबारदेखि लागु हुने गरी भाडा बढाउने निर्णय भएको छ,’ विभागका महानिर्देशक कपिल डंगोलले नागरिकसँग भने, ‘वैज्ञानिक भाडादर निर्धारणको आधारमा भाडा तय गरिएको हो।’ यो वृद्धिसँगै उपत्यकाका यात्रुले न्यूनतम १३ रुपैयाँ भाडा तिर्नुपर्नेछ। यसअघि यात्रुले न्यूनतम १२ रुपैयाँ तिरे पुग्थ्यो।


शून्यदेखि ६ किलोमिटरसम्म १४, ८ किलोमिटरसम्म १५ र त्योभन्दा माथि १९ किलोमिटरसम्म पहिलाको भाडामा २ रुपैयाँ बढी भाडा तिर्नुपर्नेछ।


‘तेलको मूल्य र अन्य पार्टपुर्जाको मूल्य अकासिएकाले मूल्यवृद्धि पहिल्यै गर्नुपर्ने हाम्रो माग थियो,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनालले नागरिकसँग भने। उनका अनुसार यो अवधिमा डिजेल प्रतिलिटर साढे सात रुपैयाँ र पेट्रोल १० रुपैयाँ बढेको छ।


सरकारले तीन वर्षअघि कार्यान्वयनमा ल्याएको वैज्ञानिक भाडादरमा असार मसान्तपछि भाडा वृद्धि गर्ने सहमति भएको थियो। वैज्ञानिक भाडादरमा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र पार्टपुर्जा, मजदुर तलब, जर्ति, बैंक ब्याज लगायतको ६५ प्रतिशत अंश राखिएको छ।

 

– नागरिक