२१ कात्तिक, काठमाडौँ । गृह मन्त्रालयको आयोजनामा पूर्वाञ्चलस्तरीय सुरक्षा भेला आज सुनसरीमा हुँदै छ । भेलाको उदघाटन उपप्रधान तथा परराष्ट्रमन्त्री विजयकुमार गच्छदारले गर्ने कार्यक्रम छ ।
भेला पूर्वीपहाडी तथा तराईका जिल्लाहरुमा सशस्त्र गतिविधि गरिरहेका भूमिगत समूहविरुद्ध राणनीति बनाउने विषयमा केन्द्रित रहने बताइएको छ । यस्तै सीमावर्ती क्षेत्रहरुमा हुने भारतीय अपराधीहरुको गतिविधि नियन्त्रण तथा सीमा विवादका विषयमा पनि छलफल हुने गृह मन्त्रालयले जनाएको छ । भेलामा नेपाल सरकारले घोषणा गरेको तत्काल राहत सुधार कार्यक्रमको कार्यान्वयन र अनुगमनका विषयमा समेत छलफल हुने बताइएको छ । भेलामा गृहसचिव सुशीलजंग राणा, नेपाल प्रहरीका कार्यवाहक महानिरीक्षक नरेश गुरुङ, कार्यवाहक सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका निमित्त मुख्य अनुसन्धान अधिकृत जितबहादुर केसी, क्षेत्रीय प्रशासक, पूर्वक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख, पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहने छ ।
भेलामा जिल्लास्थित सुरक्षा प्रमुखहरुले जिल्लाको सुरक्षाको वस्तुस्थिति र भावी रणनीतिका बारेमा रिपोर्ट पेश गर्नेछन् । सोही रिपोर्टका आधारमा भावी सुरक्षा रणनीति बनाइने बताइएको छ । यसअघि मध्यमाञ्चल क्षेत्रीय सुरक्षा भेला गत १७ कात्तिकमा वीरगञ्जमा भएको थियो ।