काठमाडौ – ४६ सालको जनआन्दोलनताका ‘फक्ल्यान्डको टापुबाट’ गीत लोकपि्रय थियो । त्यही सुनेरै कति आन्दोलनमा होमिए । रेडियो नेपालबाट गीत बजेबापत कलाकारले रोयल्टी पाउँथे तर गीतकार मणि थापाले र संगीतकार जीवन शर्माले पाउँदैनथे । पार्टीका कार्यक्रममा यो गीत धेरै गाएका जीवनले त्यसबापत हालसम्म केही लिएका छैनन् । ‘टिकट शो पनि गरिन्थ्यो तर त्यो संगठनकै हुन्थ्यो,’ शर्माले सम्झे, ‘हामी जनताका अगाडि गाउँदा रमाउँथ्यौं ।’ कम्युनिस्ट पार्टीको कलाकार बनेर करिब ६ वर्षसँगै काम गरेका थापा र शर्माले ४२ सालताका यो गीत तयार पारेका थिए । रेकर्ड भएको यो नै थापाको पहिलो गीत थियो, जुन गीतमा स्वर र संगीत शर्माले दिएका छन् । ‘त्यसबेला स्टेज कार्यक्रममा लोकपि्रय थियो,’ थापाले सम्झे, ‘धेरैले गाउँथे ।’ पार्टीको योजनाभित्रै गाइने जनवादी गीत कार्यकर्ताको पार्टी कामभित्रै पथ्र्यो । योमात्र होइन, चार सय बढी गीत रेकर्ड गराइसकेका शर्मा र सय बढी गीत लेखन र संगीत दिएका थापाले हालसम्म रोयल्टी नलिएको बताए । रोयल्टी आउँदै नआउने पनि होइन, पछिल्लो समय आउन थालेको छ तर त्यो संगठनकै हुन्छ । आफ््ना सबै गीत रक्तिम अभियानमार्फत ल्याएका जीवन भन्छन््, ‘एउटा एल्बमको रोयल्टी आएपछि अर्को एल्बम निकालिन्छ ।’ शर्माले ४४ वटा एल्बम ल्याइसकेका छन्् । मूल प्रवाहको लोकगीतमा लागेका समकालीन कलाकारको आर्थिक अवस्था राम्रो छ तर थापा र शर्मा आर्थिक स्तर सुधार्न नसकेकोमा खिन्न छैनन् ।
जनवादी गीत/संगीतमा लाग्नेले पैसाका लागि नगाउने उनीहरूको धारणा छ । ‘पैसा कमाउने भए इन्जिनियरिङ नछाड्दा फाइदा हुन्थ्यो,’ पुल्चोक इन्जिनियरिङ कलेजमा तेस्रो सेमेस्टर बीचमै छाडेर गीत/संगीतमा लागेका शर्माले शुक्रबार भने । माक्र्सवादी दर्शनअनुसार, ‘समाजमा सम्भ्रान्त र सर्वहारा वर्ग हुन्छन् । सम्भ्रान्त सीमित हुन्छन् तर स्रोतमाथि आधिपत्य राख्छन् तर सर्वहारा शोषित हुन्छन् । सर्वहाराले उत्पादनमा योगदान दिन्छन् तर स्वामित्व सम्भ्रान्तको हुन्छ,’ यही विभेदको संघर्षमा सर्वहारा वर्गका (राजनीतिक भाषामा गरिबको) प्रतिनिधि गीत नै जनवादी हुन् । थापाका अनुसार विचार बोकेको गीत नै जनवादी हुन् । बागलुङ राङखानीका शर्मा र प्यूठान धर्मावतीमा थापामात्र होइन, जनवादी गीत/संगीतमा लागेका सबैले पारिश्रमिक पाउँदैनन् ।
शर्मा ‘राजनीतिक दलमा सामन्तवादको सिकार कलाकार बनेको’ बताउँछन् । ‘जसरी समान्तले गन्धर्वलाई हेला गर्थे त्यसरी दलहरू सांस्कृतिक अभियानमा लाग्नेलाई हेयले हेर्छन्,’ उनले शुक्रबार भने, ‘यिनीहरू गीत गाउने त हुन् के राजनीति ? भनिन्छ । राजनीतिक अवसर त परको कुरा ।’ यस्तो समस्या सबै दलमा भएको बताए । जीवनका ५० वर्ष जनवादी गीत/संगीत र कम्युनिस्ट राजनीतिमा लगाएका थापा शुभेच्छुकको सहयोगमा जीविका चलेको प्रतिक्रिया दिन्छन् । उनकी पत्नी रञ्जना कान्तिपुर टेलिभिजनमा छिन्् भने ७ कक्षामा पढ्ने छोरी एलआरआई स्कुलमा पढ्छिन् । छोरीको अध्ययनको भार पनि शुभेच्छुककै सहयोगमा चलेको थापाले बताए । त्यस्तै ५४ वसन्त जनवादी सांस्कृतिक अभियानमा बिताएका शर्मा ऋणमा रहेको बताउँछन् । ‘पुख्र्यार्ैली जग्गा पनि बेचियो, ऋण छ,’ शर्माले भने । शर्माका तीन छोरा विश्वविद्यालय र छोरी विद्यालय तहमै छिन् ।
३२ सालबाट जनवादी यात्रा सुरु गरेका शर्मा अहिले भिडियो छायांकन, सम्पादन र गीत/संगीतमै छन् । जनवादी गीतको यात्रा पैसाका लागि होइन परिवर्तनका लागि हो,’ उनले भने । रक्तिमका गीत गाउन अन्य दलले पनि बोलाउन थालेको बताउँदै यसले जनवादी गीतमाथि न्याय भएको बताए । ‘गरिबका गीत’ सबैका गीत बन्नु आफूजस्ता सांस्कृतिक अभियानमा लाग्नेहरूका लागि सुखद पक्ष भएको उनले बताए । थापाले जनवादी गीतका लागि नयाँ प्रविधि त्यहीअनुकूल शब्द तथा स्वर आवश्यक रहेको बताए । पछिल्ला दिनमा मूल प्रवाहका गीतमा पनि जीविका र जनचेतनाका मुद्दा आउनु सकारात्मक भएको उनले बताए । जनवादी गीत नबिक्ने होइन कमाइ सामूहिक हुने भएकाले कलाकारको जीवनमा नदेखिएको उनको भनाइ छ । ‘सैद्धान्तिक हिसाबले त जनवादी गीत व्यावसायिक हुँदैन,’ थापा भन्छन्, ‘राम्रो गर्न सक्दा स्वतः व्यावसायिक हुन्छ ।’
३८/३९ सालताका ल क्याम्पसमा पढ्ने थापा र इन्जिनियररिङमा पढ्ने शर्माले साथै काम
थाले । ४४ मा थापा मोटो मशालमा प्रवेशपछि सहकार्य टुट्यो । त्यसपछि थापा संगीतमा लागे । ‘मोटो (मशाल) मा पाखि्रनजी (खुसीराम) हुनुहुन्थ्यो । जीवनका गीतले सडकमा लोकपि्रय थिए,’ थापाले भने, ‘त्यसैले त्यता -मसाल) को अनुभवबाट संगीत दिनुपर्ने भयो ।’ नारायणगोपाल र गोपाल योञ्जनका गीत सुनिने त्यसबेला रेडियो नेपालमा र राजकीय कार्यक्रममा मात्रै बढी सुनिन्थे, स्टेजमा जनवादी गीत नै गाइन्थे ।
‘सुरुमा म गीत लेख्थें र नाच्थें,’ थापाले भने, ‘मोटो मशालमा आएपछि संगीत दिन थालें ।’ माओवादी पोलिटब्युरो सदस्य र जनसांस्कृतिक फाँट प्रमुख भए । हाल थापा माओवादी त्यागेर ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’ को नेतृत्व गरेका छन् । थापाले सय बढी गीत रेकर्ड गरेका छन् । ‘त्यो सबै पार्टी काम थियो,’ भने, ‘जनवादी गीतमा पारिश्रमिकको अपेक्षा नै गरिँदैन ।’ थापाले रचना र संगीत गरेको ‘अरुण तरेर नाना तमोर तरेर’ गीत पनि चर्चित गीत हो । त्यसलाई माओवादीकै ‘सामना परिवार’ ले ल्याएको थियो । त्यसको रोयल्टी संस्थागत नै हुने उनले सुनाए । पछिल्लोपटक दसगजा फिल्ममा गीत लेखेका थापा भीमदत्त पन्तको जीवनीमा बन्दै गरेको फिल्मका लागि पनि गीत लेखेर संगीत गर्दैछन् ।



