त्रिकोणात्मक प्रेमकथा रहेको ‘मलाई मन पर्‍यो’ देशभर प्रदर्शनमा

काठमाडौ – त्रिकोणात्मक प्रेमकथा रहेको ‘मलाई मन पर्‍यो’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ ।

यसअघि ‘नाइँ नभन्नु ल’ बनाएर चर्चामा आएका रमेशजंग रायमाझीले दोस्रो फिल्मका रूपमा ‘मलाई मन पर्‍यो’ ल्याएका हुन् । राजबल्लभ कोइराला, जीवन लुइँटेल, निरुता सिंहको मुख्य भूमिका रहेको फिल्मको निर्देशन भद्र भुजेलले गरेका हुन् । ‘नाइँ नभन्नु ल’ मा सहायक रही काम गरेका भद्रले यसै फिल्मबाट मुख्य निर्देशकमा पाइला चालेका हुन् । फर्मुला श्रेणीमा बनेको भए पनि आफूले राम्रो फिल्म बनाएको दाबी गर्दै भद्रले दर्शकलाई मन पर्ने बताएका छन् । शम्भु सापकोटाको छायांकन रहेको फिल्ममा शम्भुजित बाँस्कोटाले संगीत दिएका छन् । फिल्ममा अरुणिमा लम्साल, सुषमा कार्की, विजय देउजालगायत पनि छन् ।

तोड मोफसलमा रिलिज भइसकेको ‘तोड’ पनि शुक्रबारबाटै प्रदर्शनका लागि उपत्यका भित्रिएको छ । सत्यकथामा आधारित भनिएको फिल्मको निर्देशन तथा लेखन राजन श्रेष्ठको हो ।

विराज भट्ट र रेखा थापाको जोडीलाई हेर्न पाइने फिल्ममा सुमन सिंह र उमा बेबीले पनि अभिनय गरेका छन् । महेश खड्काको संगीत र रोशन श्रेष्ठको द्वन्द्व छ । छायांकन शिव ढकालले गरेका हुन् । आफ्नै लगानीमा फिल्म बनाएका राजनले फिल्मको कथा आफ्नै छोरीमा आधारित रहेको बताएका छन् । छोरीको असामयिक निधनले नै आफूलाई ‘तोड’ बनाउन प्रेरणा मिलेको उनले खुलाए ।