काठमाडौ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार भारतको नयाँ दिल्लीमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यीय टिम घोषणा गरेको छ । प्रतियोगिता डिसेम्बर २ देखि नयाँ दिल्लीको जवाहरलाल नेहरु मैदानमा सुरु हुँदैछ ।
सागर थापाको नेतृत्वमा रहेको टिमका सदस्यमा किरण चेम्जोङ, विकास मल्ल, रितेश थापा, सन्दीप राई, रोहित चन्द, विकाससिंह क्षेत्री, दीपक भुसाल, रोबिन श्रेष्ठ, विराज महर्जन, निराजन खड्का, राजु तामाङ, भरत खवास, विजय गुरुङ र भोलानाथ सिलवाल छन् ।
यस्तै अन्य खेलाडीमा जुमनु राई, सन्तोष साहुखल, अनिल गुरुङ, सुजल श्रेष्ठ र जगजित श्रेष्ठ छन् । टिममा नपरेका खेलाडीमा निराजन मल्ल, रमेश कटुवाल, जितेन्द्र कार्की र अनिल ओझा रहेका छन् । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ ।
त्यस समूहका अन्य टिममा माल्दिभ्स, बंगलादेश र पाकिस्तान हुन् । नेपालले डिसेम्बर २ मा माल्दिभ्सविरुद्ध -१८ः१५), डिसेम्बर ४ मा बंगलादेशविरुद्ध -१५ः१५) र डिसेम्बर ६ मा पाकिस्तानविरुद्ध -१५ः१५) रहेका छन् ।
‘प्रतियोगिताका लागि टिम पूर्णतः तयार छ, हाम्रो उद्देश्य निश्चित रूपमा उपाधि जित्ने हो । यसका लागि टिमले कडा मिहिनेत गर्नु पर्नेछ । तर हाम्रा खेलाडी सबै फिट छन् र लयमा छन्’, नेपाली टिमका बेलायती प्रशिक्षक ग्राहम रोबर्टसले भने ।



