काठमाडौं, २० मंसिर काठमाडौंमा जारी एसीसी ट्वेन्टी(ट्वेन्टीमा नेपाललाई आज जित्नै पर्ने दवाव छ भने दिल्लीमा जारी साफ च्याम्पियन फुटबलमा पाकिस्तानसँग बराबरी गरे मात्र पनि सेमिफाइनलमा पुग्नेछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलमा आज नेपालले कुवेतको सामना गर्दैछ । समूहमा सबै राष्ट्रले २(२ खेल खेल्दा युएई ४ अंकसहित शीर्षस्थानमा छ भने २ अंकसहित नेपाल चौथो स्थानमा छ । समान अंक भएपनि रनरेटका आधारमा हङकङ र कुवेत नेपालभन्दा माथि छन् ।
यसअघि सम्पन्न आफ्नो पहिलो खेलमा हङकङविरुद्ध २ विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल दोस्रो खेलमा कुवेतसँग ६ विकेटले स्तब्ध भयो । सेमिफाइनल प्रवेशको लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ ।
उता, अन्तिम मिनेटमा सागर थापाको गोलमा बंगलादेशविरुद्ध जित हासिल गरेको नेपाली फुटबल टोलीले आज पाकिस्तानको सामना गर्दैछ । नयाँदिल्लीको जवाहारलाल नेहरु रंगशालामा हुने आजको खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा पुग्नेछ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्ससाग बराबरी खेलेको थियो भने समूहका अन्य सबै खेल बराबरीमै सकिएका छन् ।