काठमाडौं, २१ मंसिर काठमाडौंमा जारी एसीसी ट्वेन्टी(ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले आज साउदी अरेबियाको सामना गर्दैछ । आजको खेलमा जित हात पारेपनि नेपाललाई सेमिफाइनलमा पुग्न निकै कठिन देखिएको छ ।
नेपालले सेमिफाइनलको यात्रा तय गर्न आजको खेलमा साउदी अरेबियालाई ठूलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ वा समूहको अर्को खेलमा भर पर्नु पर्नेछ । आजै हुने अर्को खेलमा हङकङ र कुवेत भिड्दै छन् । यो खेलमा कुवेतले हङकङलाई पराजित गर्ने हो भने नेपालको सेमिफाइनल यात्रा सहज हुनेछ ।
यस समूहमा हङकङ ४ अंकसहित शीर्ष स्थानमा छ । त्यसैगरी दोस्रो स्थानमा समान ४ अंकसहित यूएई छ भने नेपाल समान ४ अंक लिएर रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ ।
नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग ६ विकेटले पराजित भएको थियो । हिजो भएको रोमाञ्चक खेलमा नेपालले कुवेतलाई १ रनले पराजित गरेको थियो ।