वाणिज्य सम्झौतामा नेपालले कृषि आधार शुल्क हटाउनका लागि जनाएको सहमतिप्रति आपत्ति

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल र भारतबीच हिजो सम्पन्न वाणिज्य सम्झौतामा नेपालले कृषि आधार शुल्क हटाउनका लागि जनाएको सहमतिप्रति आपत्ति जनाएको छ । व्यवस्थापिका संसद्को आजको वैठकमा बोल्दै कांग्रेस सभासद् डाक्टर रामशरण महतले दुई देशवीच सम्पन्न वाणिज्य सम्झौतामा नेपालले लगाउदै आएको कृषि सुधार शुल्क आगामी बर्षदेखि हटाउने उल्लेख गरिएको भन्दै आपत्ति जनाउनुभयो ।

नेपालले कृषि शुल्क हटाउदा अनुदान प्राप्त भारतीय कृषि उपजसंग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उहाँको भनाइ थियो । उहाँले एक सय २२ वटा बस्तुमा भारतले लगाउदै आएको अतिरित्त भन्सार शुल्क हटाउने सहमतिको भने स्वागत गर्नुभयो । उहाँले स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकुलाई सरकारले उपलव्ध गराउने रकमको आधा पार्टीलाई बुझाउनका लागि माओवादीले जारी गरेको सर्कुलरको जवाफ माग्नुभयो ।

यस्तै कांग्रेसका अर्का सभासद् अर्जुनप्रसाद जोशीले माओवादी लडाकुलाई मासिक रुपमा दिईदै आएको रकम माओवादी पार्टीले बुझ्ने गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । माओवादी सभासद् यशोदा सुवेदीले भने भगौडा लडाकुलाई पुनः सेनामा लिन नसकिने नेपाली सेनाको भनाईप्रति गुनासो गर्नुभयो । यस्तै नेकपा एमालेका रामनाथ ढकालले लोकतन्त्र र गणतन्त्रको झण्डा बोकेर शान्ति प्रकृयाका नाममा माओवादीले अर्वौं लुटेको आरोप लगाउनु भयो ।