क्रिकेट र फुटबलमा अफगानिस्तानसित भिडन्त
काठमाडौं, मङ्सिर २३ नेपाली खेलकुदका लागि सायद शुक्रबार अत्यन्तै महत्वपूर्ण मध्येको एक दिन हो। १२ वर्षपछि पहिलो पटक साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाली फुटबल टोली र साउदी अरेवियाको उपहारस्वरुप एसीसी ट्वान्टी २० कपको अन्तिम ४ पुगेको क्रिकेट टोली दुवैले शुक्रबारै फाइनल प्रवेशका लागि मैदानमा भिड्नेछन्।
फुटबल र क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता एकै समयमा परेको यो पहिलो अवसर होइन, तर यसपाली संयोगवस नेपालले शुक्रबार हुने दुवै सेमिफाइनलमा अफगानिस्तानकै सामना गर्नेछ।
कीर्तिपुर मैदानमा साउदी अरेवियाले बिहीबार युएईसंग फराकिलो अन्तरको पराजय पन्छाएपछि नेपाल एसीसी ट्वान्टी २० को सेमिफाइनल पुग्दै मार्चमा युएईमै हुने ट्वान्टी २० विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट भइसकेको छ। नेपाली क्रिकेट टोली प्रतियोगिताको सेमिफाइनलका लागि छनोट भएको यो पहिलो अवसर हो।
उता दोस्रो पटक साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको फुटबल टोली भारतको नयाँ दिल्लीमा थप दुई खेल जित्दै पहिलो उपाधि भित्रयाउने अभियानमा छ। क्रिकेटमा अफगानिस्तान नेपालभन्दा बलियो मानिएपनि फुटबलमा भने नेपालको इतिहास उनीहरुसँग दरिलो छ। अहिलेसम्मका चार भिडन्तमा नेपालले तीन जित तथा एक बराबरी नतिजा निकालेको छ।



