काठमाडौंमा जारी एसीसी ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । एकतर्फी खेलमा अफगानिस्तानले नेपाललाई ९ विकेटले पराजित गरेको हो ।
खेलमा टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित १६ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा ६८ रन बनायो । हुस्सु लागेका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि दुबै तर्फ ४(४ विकेट घटाएर खेल १६ ओभरको बनाइएको थियो । नेपालका लागि क्याप्टेन पारस खड्काले सर्वाधिक ३० रन बनाएको इनिङलाई ध्वस्त पार्ने क्रममा अफगानिस्तानका दौलत जदरानले ४ तथा जमिर खानले २ विकेट हात पारे ।
जितका लागि सामान्य योगफल पछ्याउने क्रममा अफगानिस्तानले ९ ओभर २ बल खेल्दै ७० रन बनाएर नेपाललाई स्तब्ध पार्दै फाइनलमा स्थान सुरक्षित गर्यो । आजको खेलमा नेपालको व्याटिङ कमजोरी फेरि पनि देखियो । नेपालका क्याप्टेन पारस खड्का बाहेक अरु आशा गरिएका कोही पनि व्याट्सम्यानहरु क्रिजमा चल्न सकेनन् । नेपालका अधिकांश व्याट्सम्याहरु अनावश्यक प्रहारका कारण आउट हुन पुगेका थिए । नेपालले सेमिफाइनलमा स्थान बनाउँदै यसअघि नै आईसीसी ट्वेन्टी(ट्वेन्टी क्रिकेट प्रतियोगिताको छनोट चरणमा प्रवेश भने पाइसकेको छ ।
नेपालले अब तेस्रो स्थानका लागि आज हुने दोस्रो खेलको पराजित टोलीसाग खेल्ने छ । आज हुने दोस्रो सेमिफाइनलमा ओमानले हङकङको सामना गर्दैछ ।