काठमाडौ, मंसिर २६ भारतले पाँचौंपल्ट आइतबार साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ । पहिलोपल्ट फाइनल प्रवेश गरेको अफगानिस्तानको चुनौती ४(० ले समाप्त पार्दै उसले दोस्रोपल्ट उपाधि रक्षा गरेको हो ।
नयाँदिल्लीमा भएको सातौं संस्करणको फाइनलमा नेपाली मूलका फरवार्ड सुनिल क्षेत्रीले प्राप्त पेनाल्टीलाई ७१ औं मिनेटमा गोलमा परिणत गरेपछि भारत अघि बढेको थियो । त्यही गोल फाइनलको टर्निङ प्वाइन्ट रह्यो । पेनाल्टीको चर्को विरोध गर्दा गोलकिपर हमेदुल्लाहले रातो कार्ड पाएपछि अफगानिस्तान दस खेलाडीमा सीमित भएको थियो । योसँगै क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ७ गोल गरे । उनी म्यान अफ द सिरिज र फाइनलको उत्कृष्ट खेलाडी चुनिए । भारतले नौ मिनेटभित्र तीन गोल गर्यो । भारतको जितमा क्लिफोर्ड मिरान्डाले ७९ औं मिनेटमा दोस्रो गोल गरे । जेजे लालपेख(लाले ८० औं मिनेटमा बललाई पोस्टको दिशा दिंदै भारतलाई ३(० ले अघि बढाए । चोट बोक्दै सुनिल बाहिरिएपछि मैदान प्रवेश गरेका सुशीलकुमार सिंहको नाममा रह्यो, चौथो गोल । उनले इन्ज्युरी टाइमको पाँचौं मिनेटमा गोल गरे । भारतले ट्रफीसँगै ५० हजार अमेरिकी डलर हात पार्यो । अफगानिस्तानको भागमा २५ हजार डलर पर्यो । अफगानिस्तानले सेमिफाइनलमा नेपाललाई अतिरिक्त समयमा १(० ले पराजित गरेको थियो ।



