अर्थमन्त्रीद्धारा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई ब्याजदर घटाउन आग्रह

काठमाडौ – अर्थमन्त्री वर्षमान पुनले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई ब्याजदर घटाउन आग्रह गरेका छन् । बैंकहरुमा पर्याप्त तरलता रहँदा पनि ब्याज बढेको भन्दै घटाउन आग्रह गरेको हो ।

यसअघि प्रधानमन्त्री डा‌. बाबुराम भट्टराईले पनि पर्याप्त तरलता हुँदासमेत बैंकहरुको ब्याज नघटेकोमा अश्चर्य ब्यक्त गरेका थिए ।

शुक्रबार बिहान १० देखि १२ बजेसम्म बैंकरहरुसंग चलेको छलफल कर्जा प्रवाहका बारेमा केन्द्रित रहेको अर्थमन्त्री पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जनाएका छन् ।

बैंकका कार्यकारी अधिकृतहरुले बैंकमा तरलताको समस्या नभएको जानकारी गराएका थिए । साथै तरलताको समस्या नभए पनि विभिन्न कारणले लगानीमा समस्या भएको उनीहरुको भनाई थियो ।

बैंकरहरुले मजदुर समस्याले औद्योगिक क्षेत्रमा गरिएको लगानी उठ्न नसकेको उल्लेख गर्दै लगानी वृद्धि गर्नको लागि मजदुर समस्या समाधान र प्रशासनिक नियम छरितो हुनुपर्ने सुझाब दिएका थिए ।

छलफलमा दुई दर्जनभन्दा बढी बैंकका कार्यकारी अधिकृतहरु सहभागी रहेको बताइएको छ ।

अर्थमन्त्री पुनले भने लगानीमा विविधिकरण गर्न तथा कृषी, पूर्वाधार र सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए । छलफलमा सहभागी राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकहरुले बैंकमा आएका ग्राहकहरुलाई समेट्नेमात्रै भन्दा बैंकहरुलाई आफै ग्राहक खोज्दै हिंड्नुपर्ने सुझाव दिएका थिए । ‘बैंकहरुलले लगानीको सम्भाव्यता आफै अध्ययन गर्नुपर्छ’ उनले भने ।