काठमाडौं – रिपब्लिका मिस टिन २०११ को उपाधि १९ वर्षिया आस्था श्रेष्ठले जितेकी छिन्। कलेज अफ एप्लाइड फुड एन्ड डेरी टेक्नोलोजीमा अध्ययनरत आस्थाले उपाधी जितेपछि भनिन्,’यो मेरो लागि एउटा राम्रो प्लेटफर्म मिलेको छ। यसलाई विशेष अवसरका रुपमा लिएकी छु।’
काठमाडौं जेसिसले आयोजना गरेको मिस टिनमा १८ प्रतियोगिले सहभागिता जनाएका थिए।
प्रतियोगितामा ‘फोटोजेनिक’ भइन् जोत्सना ठाकुरी। सुजिता खनालले ‘ड्रेस’मा आफूलाई अब्बल स्थापित गरिन्।
‘मिस टिन’ आस्था नेपालको प्रतिनिधित्व गरेर दक्षिण एसियाली राष्ट्रको युवा सञ्जालमा सहभागी हुने जानकारी आयोजक सम्पूर्णरत्न तुलाधरले गराए। कार्यक्रममा मिस नेपाल मलिना जोशी, हिरोइन निशा अधिकारी, सह प्राध्यापिका लिली थापा, व्यवसायी अखिल कुमार चौलागाई, फिल्म निर्देशक नारायण पुरी र प्रदिपमान वैद्य निर्णायक थिए।
राजधानीको सर्वनाममा दुई हप्ता चलेको प्रशिक्षणमा पूर्व मिस नेपाल सेकेन्ड रनर अप कुन्छाङ मोक्तानले प्रशिक्षण दिएकी थिइन्। १६ देखि १९ वर्षका किशोरीहरुले भाग लिन मिल्ने प्रतिस्पर्धामा काठमाडौं, ललितपुर, धादिङ, भक्तपुर लगायतका शहरबाट प्रतियोगीहरु सहभागी थिए।
कार्यक्रममा गत वर्षकी विजेता कृष्टि तामाङले आस्थालाई ताज पहिराई दिएकी थिइन्। उनले विदाई मन्तव्यमा भनिन्,’१ वर्षको अवधिमा काठमाडौं जेसिससँग मिलेर विभिन्न समुदायसँग काम गर्ने अवसर पाइयो। यसले मेरो करियरमा महत्वपूर्ण भूमिका खेलेको छ। ‘कार्यक्रमको कोरियोग्राफी कुन्छाङले गरेकी थिइन्। यो मिस टिनको १० औं संस्करण हो। – नागरिक



