काठमाडौं – भर्खरै मुम्बईमा उदितनारायण झालाई गीत गवाएर फर्केका संगीतकार अर्जुन पोखरेल भन्छन्, ‘नेपाली गीत भनेपछि उदित र दीपाजी दुवैजना निकै उत्साही बन्नुहुँदोरहेछ।’ भारतका क्षेत्रीय भाषाका फिल्म र स्टेज शोमा व्यस्त उदितको समय मिलाउन कम्तीमा १० दिन लाग्ने बताइन्छ। तर, अर्जुनले दुईतीन दिनमै उदितलाई रेकर्डिङमा बोलाए। ‘उहाँले अरु सबै काम पन्छाएर नेपाली गीतलाई समय दिनुभएको हो,’ अर्जुनले भने।
अर्जुनले मुम्बईमा ‘ब्ल्याकमेल’, ‘मेरो जीवनसाथी’, ‘बर्सात’ र ‘काजल’ फिल्मका गीत उदितलाई गाउन लगाए। ‘बर्सात’मा दीपा झाले पनि गाएकी छिन् भने ‘मेरो जीवनसाथी’मा सञ्जीवनीले।
प्रतिगीत उदितलाई १५ हजार र सञ्जीवनीलाई १२ हजार भारुमा गाउन लगाएको अर्जुनले खुलाए। नेपाली गीत भएकोले दुवैले निकै कम पारिश्रमिकमा गाइदिएको उनको ठहर छ। अर्जुनका अनुसार मुम्बईमा संघर्षरत् नेपाली संगीतकार शिखर सन्तोषको भनसुनमा सञ्जीवनीले थोरै पैसामा गाइदिएकी हुन्।
गीत रेकर्डिङपछि उदितले अर्जुनको समूहलाई घरमा लगेका थिए। ‘उहाँले सप्तरीमा बनाइएको घर र नातेदारहरुको फोटो हामीलाई देखाउनुभयो,’ अर्जुन भन्छन्, ‘छिन्नलता पुरस्कार लिन काठमाडौं आउने योजना लिए पनि उहाँको पासपोर्ट दक्षिण अफ्रिकाको भिसाका लागि दिइएकोले नमिलेको रहेछ।’
उदितले नेपाली पासपोर्ट नै प्रयोग गर्ने गरेको पनि अर्जुनले थाहा पाए। नेपाली फिल्म र संगीतको बारेमा कुराकानी गरेपछि लिफ्टमा उदितले भनेको कुरा अर्जुन सायद कहिल्यै बिर्सदैनन्। ‘म टाटा बिरला त होइन, तैपनि तपाईहरु नेपालबाट आउनुभएको, खर्चवर्चमा कुनै समस्या छ भने भन्नुहोला,’ अर्जुनले उदितको भनाइलाई उदधृत गरे।
प्रसिद्ध सेक्सोफोन वादक मनोहरि सिंहका नाति निरज सिंहको सहयोगमा अर्जुनले मुम्बईमा फटाफट काम सकेका हुन्। गायक कैलाश खेरको स्टुडियोका मुख्य रेकर्डिस्ट हुन् निरज। उनकै पहलमा गायकगायिकाको समय मिलेको थियो।
प्रदर्शन भइरहेका फिल्म ‘भनिदेऊ न माया गर्छु’ र ‘हत्याकाण्ड’का संगीतकार अर्जुनले काठमाडौंमै ‘मुन्नी बदनाम हुई’की गायिका ममता शर्मालाई नेपाली गीत गवाए। ‘गुलाबको फूल’ नामक फिल्मका लागि ममताले एउटा गीत ३२ हजार नेपाली रुपैयाँमा गाएकी हुन्। ललितपुरको जावलाखेलमा आयोजित बलिउड धुम कार्यक्रममा गाउन आएकी ममताले त्यही राति १२ बजे गीत रेकर्ड गरेकी थिइन्।
इलाहावाद संगीत विद्यालयबाट बिम्युज गरेका अर्जुनले काठमाडौंको म्युजिक सेन्टरमा प्रवीण बुढापिर्थीसँग पाश्चात्य संगीतको स्वरलिपि सिकेका छन्। राम सिटौलासँग मिलेर अनुराग म्युजिक स्कुल चलाइरहेका अर्जुनको अनुभवमा मुम्बईका रेकर्डिङ स्टुडियो नेपालका भन्दा धेरै गुणस्तरीय छन्। भन्छन्, ‘सफ्टवेयर सक्कली हुन्छ भने माइक्रोफोन पनि राम्रो र टेक्निसियन अनुभवी छन्।’
– नागरिक