२४ वर्षीय अर्जेन्टिनी फुटबल खेलाडी लायोनेल मेस्सी लगातार तेस्रो पटक फिफा वर्ष खेलाडी घोषित

जुरिच – २४ वर्षीय अर्जेन्टिनी फुटबल खेलाडी लायोनेल मेस्सी लगातार तेस्रो पटक फिफा वर्ष खेलाडी घोषित भएका छन्। तीन पटक लगातार वर्ष खेलाडीको उपाधि जित्‍ने उनी पहिलो हुन्।

बार्सिलोनाका फरवार्ड मेस्सीले यो उपाधिका लागि आफ्नै क्लबका साथी जाभी हर्नान्डेज र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्। यसअघि रोनाल्डो (१९९६-९७ र २००२) र जिनेदिन जिदान (१९९८, २००० र २००३) ले मात्र तीन पटक उपाधि जितेका थिए।

रिटायर्ड भइसकेका ब्राजिली खेलाडी रोनाल्डोबाट सन् २०११ को फिफा बलून डी ओर अवार्ड प्राप्त गरेपछि मेसीले भने, ‘यो ठूलो सम्मान हो।’ गत वर्षदेखि फिफा अवार्डको नाम परिवर्तन गरिएको हो।

मेस्सीले बार्सिलोनाका लागि सन् २०११ मा ५५ गोल गरेका थिए। आफ्नो देश अर्जेन्टिनाको लागि भने उनले चार गोल गरेका थिए। बार्सिलोनाले गएको वर्ष पाँच वटा ट्रफी जितेको थियो।

उत्कृष्ट कोचको अवार्ड बार्सिलोनाका पेप गुआर्डिओलाले जिते। त्यसैगरी महिलातर्फ पाँच वर्ष उत्कृष्ट खेलाडीको रुपमा शासन जमाइरहेका ब्राजिलियन फरवार्ड मार्टालाई जापानकी होमारे सावाले यस पटक पछि पारिन्।