मुम्बई – भावुक रोमान्टिक फिल्मका लागि चर्चित बलिउड अभिनेता शाहरूख खान अब अभिनेत्री क्याट्रिना कैफसँग रोमान्स गर्दैछन्। एस चोपडा प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्ममा यी दुई जोडीलाई एकसाथ देखिने भएको हो।
यसै सातादेखि सुटिङ गरिने फिल्मलाई लिएर विभिन्न टिप्पणी समेत हुन थालेको छ। सलमान खान र शाहरूखबीच राम्रो सम्बन्ध नभइरहेका बेला सलमानकी पूर्वप्रेमिका मानिएकी क्याट्रिना शाहरूखसँग फिल्म खेल्न लागेपछि यस्ता टिप्पणी उब्जिएको हो।
यश चोपडाका कान्छा छोरा उदयले ट्विट गरेका छन्, ‘मेरो बुबाको फिल्म आजबाट पुजाआजासहित सुरू भयो। भोलिदेखि शाहरूख र क्याट्रिनाको सुटिङ सुरू हुँदैछ। वीरजारापछि बुबाको यो फिल्म बनेको हो।’
‘वीरजारा’ रिलिज भएको सात वर्षपछि चोपडाले यो फिल्मको निर्देशन गन लागेका हुन्। फिल्मको म्युजिक कम्पोज एआर रहमानले गरेका छन् भने गीतहरू गुलजारले लेखेका छन्। शाहरूखकै फिल्मबाट करिअर सुरु गरेकी अनुष्का शर्मा यसपटक महत्वपूर्ण भूमिकामा देखिने छिन्। स्रोतका अनुसार क्याट्रिनालाई शाहरूखसँग काम गर्न कुनै समस्या छैन्। उनले सलमान आफ्नो राम्रो साथी भएको बताएकी छिन्।
– एजेन्सी