माघेसङ्क्रान्ति घ्यू, चाकु, तरुल खाने चाड त हो नै तर नुवाकोटमा भने माघसङ्क्रान्तिमा विशेष मेला लाग्ने गर्छ। त्यो दिन यहाँ गोरु जुधाएर मनोरञ्जन लिइन्छ। यो वर्ष पनि जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिमा 13 हल गोरु जुधाइने भएको छ। तारुकाको चन्दनीमा नौ हल र गेर्खु बेत्रावतीमा चार हल गोरु जुधाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
तारुकामा गोरु जुधाउनका लागि नौ हल दर्ता भएको मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुङ्गानाले बताए। मेलाका लागि किसानले गोरु राम्रो स्याहार गरी पालेकाले दर्शकले गत वर्षभन्दा बढी मनोरञ्जन पाउने दाबी उनले गरे।
निकै पुरानो मानिएको तारुकाको गोरु जुधाउने मेला पछिल्ला सात वर्षदेखि व्यवस्थित रुपमा एउटै पाटोमा हुँदै आएको छ। यहाँको गोरुजुधाइ हेर्न काठमाडौं धादिङ र रसुवालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा मानिस आउने गर्छन्।



