वुद्ध जन्मस्थल लुम्बिनीलाई आध्यात्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले घोषणा गरिएको लुम्बिनी भ्रमण बर्ष आजदेखि शुरु भएको छ । राष्ट्रपति डा. रामवरण यादवले आज अपरान्ह वुद्ध जन्मस्थलमै लुम्बिनी भ्रमण वर्ष २०१२ को औपचारिक उद्घाट्न गर्नुभयो । लुम्विनीलाई राष्ट्रिय प्राथमिकता राखी प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियान अन्तर्गत लुम्बिनी भ्रमण बर्ष शुरु गरिएको हो । राष्ट्रपति यादवले पर्यटन दूरदृष्टि २०२० अर्थात भिजन ट्वान्टी ट्वान्टी को समेत आजै शुभारम्भ गर्नुभयो । सरकारले सन २०२० सम्ममा लुम्विनीलाइ विश्वको आर्कषणको केन्द्र बनाउने र त्यस अवधिमा लुम्बिनीमा २० लाख पर्यटक भित्र्याउने उद्धेश्य राखेको छ ।
यस अभियान अन्तर्गत यस क्षेत्रका वासिन्दाको जीवन स्तर माथि उठाउने कार्यक्रमहरु पनि संचालन गरिने बताइएको छ । लुम्बिनी भ्रमण बर्षको उद्घाटन गर्दै राष्ट्रपति यादवले वुद्धको शान्ति सन्देश पृथ्वीका सवै वासिन्दाको कल्याणका लागि भएको भन्दै नेपाल लगायत विश्वभर शान्तिको कामना गर्नुभयो । उहाँले मुलुकमा द्विगो शान्ति स्थापनाका लागि संविधान निर्माण चाँडै सम्पन्न हुनुपर्ने बताउनु भयो । समारोहमा पर्यटनमन्त्रि लोकेन्द्र विष्ट मगरले लुम्विनीको धार्मिक तथा सांस्कृतिक महत्वलाई विश्वव्यापी बनाउनु पर्नेमा जोड दिनुभयो भने संस्कृतिमन्त्रि गोपाल किरातीले ग्रेटर लुम्विनीको अवधारणाबाट आर्थिक क्रान्ति प्रारम्भ गरिने बताउनुभयो ।



