चीनसँग द्धिपक्षिय लगानी प्रबद्र्धन एवं संरक्षण सम्झौता विप्पा सम्झौता भएन

चीनसँग विप्पा सम्झौता भएन


चिनीयाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणको क्रममा हुने भनिएको द्धिपक्षिय लगानी प्रबद्र्धन एवं संरक्षण सम्झौता विप्पा अन्तिम अवस्थामा आएर रोकियो । हालै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भारत भ्रमणका क्रममा भारतसँग विप्पा सम्झौता भएपछि चिनियाँ लगानी भित्र्याउन चीनसँग पनि विप्पा सम्झौता गर्न निजी क्षेत्रले जोड दिदै आएको थियो ।

प्रधानमन्त्री वेनको भ्रमणमा दुई देशबीच विप्पा सम्झौता हुने भनिएको थियो । त्यसका लागि चीन सरकारले सम्झौतामा उल्लेख गरिनुपर्ने प्रावधान सहित विस्तृत विवरण समेत नेपाललाई पठाइसकेको थियो । तर, भारतसँग भएको विप्पा सम्झौताको प्रावधान भन्दा पनि बढि जटिल प्रावधान चीनले राखेपछि नेपालले नै सम्झौता गर्न नमानेको हो ।

सम्झौतामा राखिनुपर्ने प्रावधान बारे अझै अध्ययन गर्नुपर्ने भन्दै हालका लागि स्थगित गरेको बुझिएको छ । चीनसँग विप्पा सम्झौता गर्न सकिए चिनीयाँ लगानी भित्रने र दुई देशबीचको व्यापार घाटा कम गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ । हाल चीनसँग नेपालको व्यापार घाटा ४२ अर्ब रुपैयाँ बराबर रहेको छ । यो भारतपछिको सबैभन्दा ठुलो व्यापार घाटा हो । चिनियाँ प्रधानमन्त्री वेनको भ्रमणका क्रममा गर्ने भनिएको विप्पा सम्झौता तत्कालका लागि भएपनि केहि समयपछि सम्झौताका प्रावधान मिलाएर छिट्टै सम्झौता गरिने बताइएको छ । वेनको भ्रमणका क्रममा आठ बटा सम्झौता र नेपाललाई साढे नौ अर्व बराबरको सहयोग दिने चिनियां घोषणा भएकाले नेपाल सरकारले भ्रमणलाई उपलब्धिपूर्ण भनेको छ ।