– अमर खड्का
इटहरी – सरकारले इँटामा भ्याट लगाउने तयारी गरेपछि खारेजीको माग राख्दै इँटा व्यवसायीले आइतबारदेखि देशभर अनिश्चितकालीन इट्टा बिक्री ठप्प पारेका छन्। सुनसरी, मोरङ् र झापामा मात्र लिइँदै आएको भ्याट खारेजीको माग राखेर व्यवसायीले बिरोध गरी रहेको समयमा थप अन्य जिल्लाका व्यवसायीलाई समेत भ्याट लाउने तयारी गरेपछि विक्री ठप्प पारिएको हो।
व्यवसायीले इँटा विक्री ठप्प पारेपछि विकास-निर्माणको काम प्रभावित हुने छन्। ‘इटा बनाउने जस्तो अति जोखिमपूर्ण व्यवसाय भ्याटको नियम अनुसार हिसाब राख्न नसक्ने भएकाले गर्दा बिरोध गर्नुपरेको हो,’ नेपाल इट्टा उद्योग महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र चित्रकारले भने, ‘भ्याट खारेजी नहुन्जेलसम्म विक्री ठप्प पारिनेछ।’
भ्याट खारेजीको माग राखेर पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा अटेर गरेकाले गर्दा व्यवसायीले बाध्य भएर इँटा विक्री ठप्प पारेको सुनसरीका व्यवयासी निलम बस्नेतले बताए।
देशभर कानुनी इजाजत प्राप्त सात सय इट्टा उद्योग छन्। यी मध्ये पूर्वका तीन जिल्लाका उद्योगले भने ६ वर्ष अघिदेखि नै सरकारले भ्याट लिने गरेको छ।