– विज्ञान अधिकारी, नागरिक
काठमाडौ – कच्चा ऊनको भाउ महँगिएर लागत बढेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली पस्मिनामा फेरि रेशम र ऊन मिसाउन थालिएको छ।
पस्मिनाका लागि आवश्यक पर्ने कच्चा पदार्थ अहिले ४० प्रतिशत थप महँगो भएको छ। यसले विदेशी बजारमा अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न व्यवसायीलाई गाह्रो परेको छ।
विदेशी उत्पादनले बजार लिन थालेपछि आफ्नो हिस्सा नगुमाउन व्यापारीले रेशम र ऊन मिसाएर लागत कम गरी बेच्न थालेका हुन्। पस्मिनामा मिसाउने रेशम र ऊनको प्रतिशत भने व्यापारीपिच्छे फरक हुन्छ। नेपाल पस्मिना उद्योग संघले जारी गर्ने पस्मिनाको लोगो प्रयोग गर्न भने ५१ प्रतिशत च्याङ्ग्राको ऊन र ४९ प्रतिशत अन्य ऊन भए पुग्छ।
‘विदेशी आयातकर्ताले नेपाली पस्मिना महँगो भएको गुनासो गरेकाले हामीले रेशम र अन्य ऊन मिसाउन बाध्य भएका हौं,’ नेपाल पस्मिना उद्योग संघका अध्यक्ष पुष्पमान श्रेष्ठले मंगलबार नागरिकसँग भने, ‘अहिले हामीले नमुना बनाएर पठाउने तयारी गरिरहेका छौं।’
विगतमा पश्चिमी बजारमा ‘हटकेक’ बनेको नेपाली पस्मिनामा व्यवसायीले बढी नाफा लिन रेशम र ऊनको मात्रा बढाएपछि बजार गुमेको थियो। अहिले फेरि यस्तै अवस्था आउने देखिएको छ।
पस्मिनाका लागि आवश्यक पर्ने कच्चा पदार्थ सबै चीनबाट आयात हुन्छ। संघका अनुसार पस्मिनाको कच्चा पदार्थको मूल्य बढेर एक किलोको १ सय ४० अमेरिकी डलर पुगेको छ। केही समयअघिसम्म यसको मूल्य १ सय ५ डलर मात्र थियो। कच्चा पदार्थको मूल्यवृद्धिले पस्मिना सलको भाउ बढेको छ। १७ सयमा पाइने पस्मिना सल बढेर अहिले २२ सय पुगेको छ।
श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाकै लागि अन्य ऊन मिसाएर उत्पादन गर्नुपर्ने बाध्यता आएको बताए। कच्चा पदार्थको मूल्य बढेर तत्कालै निकासीमा असर नपारे पनि दीर्घकालीन रुपमा असर गर्ने देखिएर अन्य ऊन प्रयोग गरिएको हो,’ उनले भने।
‘नेपाली पस्मिनालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी रुपमै उभ्याउन यो विकल्प खोजेका हौं,’ श्रेष्ठले भने। उनका अनुसार नेपालीको तुलनामा भारत र चीनको पस्मिना सस्तो छ। कच्चा पदार्थ त्यही उत्पादन हुने र ढुवानी लागत सस्तो भएकाले भारत र चीनका पस्मिना सस्तो भएको हो। उनले धेरै उद्योगीले यसरी नै नमुना(स्याम्पल) बनाएर क्रेतालाई पठाइरहेको जानकारी दिए।
नेपालीको नाममा चिनियाँ र गुणस्तरहीन पस्मिना बजारमा पुगेपछि निकासीमा आएको गिरावटले संघले च्याङ्ग्रा पस्मिनाको सामूहिक लोगो कार्यान्वयनमा ल्याएको थियो। श्रेष्ठले रेशम र अन्य ऊन प्रयोग गरेर पस्मिना बनाए पनि सामूहिक चिह्नमा कुनै समस्या नआउने जिकिर गरे।
‘अन्य ऊन मिसाउँदैमा च्याङ्ग्रा पस्मिनाको लोगो कार्यान्वयनमा कुनै समस्या आउँदैन,’ उनले भने, ‘रेशम र ऊन मिसिएकालाई समेत हामीले यो चिह्न दिन्छौं।’ लोगो कार्यान्वयन ल्याउने बेलामै प्रतिशतका आधारमा समेत पाउने सहमति गरेको र निर्देशिकामा समेत यहीलाई मान्यता दिएको श्रेष्ठले बताए। उनले रेशम मिसाएर पस्मिना पठाए पनि नेपाली पहिचानलाई भने व्यवसायीले नगुमाउने दाबी गरे।
‘धेरै पहलपछि हामीले पाएको च्याङ्ग्राको पहिचानलाई गुमाउन चाहँदैनौं, त्यसैले हामीले सचेत भएर पस्मिनाको सामाग्री बनाउने छांै र अनुगमन पनि गर्नेछौं,’ उनले भने। श्रेष्ठले ठूलो परिमाणमा उत्पादन गरेर भारत र चीनसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले स -साना उत्पादन गरेर निकासीमा गइरहेको जानकारी दिए। नेपाली पस्मिना भारत, चीन, युरोप, अमेरिका, जापान, इन्डोनेसिया लगायत ७० मुलुकमा निकासी हुन्छ।
विगतमा पस्मिनाका नाममा भिस्कोस, पोलियार्न र उन मिसिएका वस्तु निकासी हुन थालेपछि खरिदकर्ताहरूबाट गुणस्तर प्रमाणित गर्न दबाब बढेको थियो। जापानले करिब तीन वर्षअघि नेपाली पस्मिना आयातमा केही समय प्रतिबन्ध लगाएको थियो। स्पेन र इटालीले पनि गुणस्तर प्रमाणित नभए आयातमा रोक लगाउने चेतावनी दिएका थिए। युरोपेली समुदायका सबै खरिदकर्ताले गुणस्तर प्रमाणीकरणको माग गरेका थिए। युरोपेली मुलुकलगायत प्रमुख खरिदकर्ताले नेपाली पस्मिनाको गुणस्तरमा प्रश्न उठाएपछि लोगो दर्ता गरिएको हो।
मुलुकभर पहिले पस्मिनाका १ सय ६० उद्योग सञ्चालनमा रहेकामा अहिले ८२ मात्र चलेका छन्। उद्योगहरुमा ५० हजार कामदारले काम पाएका थिए। यसमध्ये २५ हजारभन्दा माथि महिलामात्र थिए। नेपाली पस्मिना र यसबाट बनेका अन्य सामान ७५ वटा मुलुकहरुमा जाने गरेको थियो। अहिले खुम्चिएर ४० मा झरेको हो। पस्मिनासँगै सल, स्विटर, ब्लान्केट, स्काफ, मफलर, ओभरकोटजस्ता सामान पनि विदेश जाने गरेका छन्।
चिनियाँमा समेत आकर्षण चिनियाँ पर्यटकले नेपाली पस्मिना किनेर लैजाने क्रम पछिल्लो समय बढेको उद्योगीहरु बताउँछन्। ‘नेपाल आएका हरेक पर्यटकले हाम्रो पस्मिना लिएर जाने गरेका छन्,’ श्रेष्ठले भने, ‘नेपाली पस्मिना चीन जाने परिमाण धेरै ठूलो छ।’ चीनमा नेपाली पस्मिना निकासी बढ्न थालेपछि उद्योगीले नेपालमा रहेको चिनियाँ राजदूतसँग छलफलको तयारी गरिरहेका छन्।
‘चीनतर्फ पस्मिना सिपमेन्ट गरेर निकासीका लागि राजदूतसँग छलफल गर्ने तयारीमा छांै,’ श्रेष्ठले भने, ‘पस्मिनालाई भन्साररहित सुविधा दिनसमेत आग्रह गर्नेछौं।’ उनका अनुसार चीनमा भन्साररहित सुविधा पाए निकासी ह्वात्तै बढ्ने छ।