राष्ट्रिय वाणिज्य बैँकको ४७ औँ वार्षिकोत्सव, आफूसँग बैँक ब्यालेन्स नरहेको प्रधानमन्त्रीको भनाइ

Photo8

 

काठमाडौँ  – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूसँग बैँक ब्यालेन्स नरहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैँकको ४७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा उनले वाणिज्य बैंकसँग भने आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

 

प्रधानमन्त्री भट्टराईले भने- ‘मेरो बैंक ब्यालेन्स छैन र राख्ने बानी पनि छैन, तर मेरो २०४६/४७ सालदेखि सायद हजार रुपैयाँको बैंक एकाउन्ट राष्ट्रिय वाणिज्य बैंकमै छ, त्यो भोटाहिटी शाखामा।’


पूर्ण सरकारी स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैँकसँग सरकारको प्रमुख हुनुको नाताले भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले भने- ‘अर्को सुखद संयोग पनि यस बैँकका सञ्चालक समितिका अध्यक्ष नरहरि ढकाल २०२६/२७ सालमा मैले स्कुलमा पढाएको सुयोग्य विद्यार्थी पनि हुनुहुन्छ।’


सो अवसरमा उनले राष्ट्रिय वाणिज्य बैंकको आकर्षक आर्किटेक्चर डिजाइन जस्तै मुलुकको सबल आर्थिक, सामाजिक र सांस्कृतिक आधारको आर्किटेक्चरको उत्कृष्ट कार्ययोजना मनसाय र इच्छाशक्ति आफूसँग रहेको समेत बताएका थिए। -रासस