विश्वका प्रमुख फिल्म महोत्सवमध्येको एक बर्लिन फिल्म महोत्सवका लागि नेपाली फिल्म ‘हाइवे’ छनौट
माघ १२ गते, २०६८ मा प्रकाशित
काठमाडौँ – विश्वका प्रमुख फिल्म महोत्सवमध्येको एक बर्लिन फिल्म महोत्सवका लागि दीपक रौनियारद्वारा निर्देशित नेपाली फिल्म ‘हाइवे’ छनौट भएको छ। जर्मनीको बर्लिनमा आउँदो फेब्रुअरी ९ देखि १९ सम्म हुने महोत्सवका लागि छनौट भएका ११ वटा विभिन्न देशका फिचर फिल्ममा ‘हाइवे’ छनौट भएको हो।
महोत्सवको प्यानोरामा प्रोग्राम अन्तर्गत थप ११ फिल्म आज छानिएका हुन्। छानिएका ११ फिल्ममध्ये ८ वटा फिल्मको वर्ल्ड प्रिमियर सोही महोत्सवबाट हुँदैछ। हाइवेको पनि वर्ल्ड प्रिमियर त्यहीँबाट हुने भएको हो।
आज थपिएका ११ फिल्मसहित यो महोत्सवको प्यानोरामा प्रोग्राममा कूल ५३ वटा फिचर फिल्म प्रदर्शन हुने भएका छन्। तीमध्ये ३७ देशका फिल्म वर्ल्ड प्रिमियर हुनेछन्।
प्यानोरामामा बहस चलाउने हिसाबले बनाइएका फिल्महरुको छनौट हुने गर्छ। सन् १९७८ देखि वार्षिक रुपमा आयोजना हुने बर्लिन फिल्म महोत्सवमा पहिलो पटक नेपाली फिल्म छनौट भएको हो।
‘हाइवे’मा अमेरिकी कम्पनी लुभर्चुर फिल्मस्ले सहलगानी गरेको छ। यो कम्पनीले अभिषेक बच्चन अभिनित बलिउड फिल्म ‘दम मारो दम’ पनि निर्माण गरेको हो।
लुभर्चुर फिल्मस्ले निर्माण गरेका फिल्महरू संसारका प्रतिष्ठित फेस्टिभलहरूमा सहभागी हुँदै आएका छन्। त्यसैले कम्पनीसँगको सहकार्यलाई निर्देशक दीपक रौनियार फेस्टिभलको नेटवर्कमा प्रवेश गर्ने ढोका मान्छन्। ‘एउटा नेपाली फिल्मले वास्तविक अन्तर्राष्ट्रिय बजार हासिल गर्न सक्छ यो पटक,’ दीपकले गत भदौमा नागरिकसित कुरा गर्दै भनेका थिए, ‘भविष्यमा अरू नेपाली फिल्मका लागि पनि ढोका उघ्रिनसक्छ।’
समिरमणि दीक्षितद्वारा निर्मित ‘हाइवे’मा नेपालीहरूले राजमार्गको यात्रा गर्दा भोग्नु परेका समस्याहरूको कथा उनिएको छ। यसमा कर्म, सौगात मल्ल, ऋचा शर्मा, विनय श्रेष्ठ, इलम, दयाहाङ राई, राजन खतिवडा लगायतको मुख्य अभिनय छ। हाइवेले अनलाइन क्राउड फन्डिङ वेबसाइट ‘किकस्टार्टर’ मार्फत् पोस्टप्रोडक्सनका लागि ३३ हजार ६ सय ४७ अमेरिकी डलर (करिब २७ लाख रुपैयाँ) संकलन गरेको थियो।