मेलाका पहिला दुई दिन व्यापार सामान्य रहे पनि भीड बढेका कारण तेस्रो दिन ८० वटा मोबाइल बेचेको जिफाइभ मोबाइलका दीपक फुयालले बताए । धेरै छुटको व्यवस्था गरेकाले ग्राहक आकषिर्त भएको उनको भनाइ छ । जिफाइभले मोबाइलको खरिदमा १० प्रतिशत छुटका साथै ५ हजार ७ सय रुपैयाँ पर्ने मोबाइलमा एउटा मोबाइल सित्तैमा दिने योजना ल्याएको छ । उनको स्टलमा १ हजार ८ सय रुपैयाँदेखि ५ हजार ७ सय रुपैयाँसम्मका मोबाइल छन् ।
मेलामा देखिएको अत्यधिक भीडले व्यापारी उत्साहित देखिन्थे । कास्पस्र्काई एन्टिभाइसको व्यापार गर्दै आएका मनिष महर्जनले शनिबार ग्राहकहरूको भीड अत्यधिक बढेकाले व्यापार लगभग ४० प्रतिशतले वृद्वि भएको बताए । ग्राहकको घुइँचो बढेकैले शनिबार ८० हजार रुपैयाँको एन्टिभाइरस बिक्री गरेको उनले बताए । महर्जनले एन्टिभाइरसको खरिदमा ४० प्रतिशतसम्म छुट दिएका थिए ।
मेलामा ल्यापटप, डेस्कटप, ट्याब्लेट लगायत कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभ, राउटरलगायत सामग्रीका अत्तिरिक्त सूचना प्रविधिका उपभोक्ताको ध्यान तान्ने नयाँ उत्पादन मेलामा पहिलोपटक राखिएको छ । क्यान इन्फोटेकमा विभिन्न कम्पनीका सामान सस्तो र सुलभ मूल्यमा पाएकाले आफू उस्ताहित भएको सुकेधाराका प्रकाश भुजेलले बताए ।
तेस्रो दिन मात्र ९२ हजार अवलोकनकर्ताले मेला घुमेको क्यानका महासचिव नारायण न्यौपानेले बताए । मेला १७ गतेसम्म चल्नेछ ।
एक्स्पोलोरको मुख्य आकर्षण ट्याब
क्यान इन्फोटक मेलाको प्रमुख प्रायाेजक एक्स्पोलोर एसियाले मेलामा एक्स्पोलोर ब्रान्डका कम्प्युटर मोनिटर, सीपीयू, किबोर्ड, माउस, इस्पिकर, वेइभ क्याम्प र ट्याबलेट राखेको छ ।
मेलामा प्रस्तुत कम्पनीको सामग्री सस्तो, सुलभका साथै वारेन्टीसमेत पाइने कम्पनीले जनाएको छ । कम्पनीअन्तर्गत एचपी, पान्डा सेक्युरिटिज, सिमेट्रोनिक्स, जेटवे, डेललगायतका ब्रान्ड छन् । यस कम्पनीले मेलाको मुख्य आकर्षणका रूपमा एक्स्पोलोर ट्याब र सिमट्रोनिक्स ट्याब ल्याएको छ । विभिन्न सुविद्या भएको यस ट्याबको मूल्य २४ हजार रुपैयाँसम्म पर्छ ।



