
नेपाल आयल निगमले आवश्यक मात्रामा खाना पकाउने एलपी ग्याँस आयात गर्न नसक्दा चर्किएको ग्याँस अभाव ग्याँस व्यवसायीहरुले कालोबजारी गरेर झन् चर्काएको खुलासा भएको छ । आज उपभोक्ताको उजुरीपछि वाणिज्य विभागले राजधानीको क्षेत्रपाटी कुश्लेचौरमा अनुगनम गर्दा ग्याँस व्यवसायीले नै ग्याँस लुकाएर कालोबजारी गरेको खुलासा भएको हो । उपभोक्ताको गुनासोका आधारमा कुश्लेचौरस्थित मनकामना ग्याँस डिपोमा छापा मार्दा १ सय २९ वटा भरिएको ग्यास सिलिण्डर फेला पारेको छ । सोहि पसलमा ग्याँस किन्न गएका उपभोक्तलाई व्यापारीले ग्याँस नभएको भन्दै फर्काएपछि उपभोक्ताले विभागलाई उजुरी गरेका थिए ।
ग्याँसमा कालोबजारी गर्ने ग्याँस व्यवसायी रोशनलाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई महानगरिय प्रहरी प्रभाग लैनचौरमा राखिएको छ र तीनदिन भित्र विभागमा स्पष्टिकरण दिन निर्देशन दिइएको विभागले जनाएको छ । वजारमा कृत्रिम अभाव गर्नेलाई थुनामा राखेर कारवाही गर्न यसअघि नै विभागले निर्देशन दिइसकेको छ । कृत्रिम अभाव गर्ने विक्रेतालाई उपभोक्ता ऐन र कालाबजारी ठगी ऐन अन्तगर्त कारवाही हुने विभागले जनाएको छ । यसैबीच नेपाल आयल निगमले तत्काल उपभोक्ताले खोजे जति ग्याँस उपलब्ध गराउने अवस्था नरहेको जनाएको छ । ग्याँसको अभाव तत्काल अन्त्य नुहुने भन्दै निगम प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले अहिलको अवस्थामा सुधार आउन कम्तीमा १५ दिन लाग्ने वताउनभुयो ।
इमेज समाचारसंग कुरा गर्दे प्रवक्ता ढुङ्गेलले भारतमा पनि ग्याँसको समस्या देखिएको भन्दै नेपालमा त्यसको असर परेको तर्क गर्नुभयो । नेपालमा ग्याँसको स्टोरेज गर्ने क्षमता नभएका कारणले पनि अभाव भएको उहाको भनाई छ । अहिले नेपाली उपभोक्ताले ग्याँसको चरम अभाव ब्यहोरिरहेका छन् ।



