बैँकको करोडौँ ऋण नतरी फरार रहेका तत्कालीन विश्वास गार्मेन्टका प्रोपाइटरलाई गिरफ्तार

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न बैँकको करोडौँ ऋण नतरी फरार रहेका तत्कालीन विश्वास गार्मेन्टका प्रोपाइटर विजयप्रसाद लोहनीलाई असनबाट गिरफ्तार गरेको छ। उनीमाथि एनसीसी बैँकको ४५ करोड ऋण, नेपाल बैँकको १ करोड ५३ लाख ऋण नतिरेको आरोप छ।

 

नियतवश ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रमा पनि उनको नाम कालोसूचीमा रहेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैँकलाई हानी पुर्‍याई भ्रष्टाचार गरेको जिकिर गर्दै दायर गरेको मुद्दामा विशेष अदालते २०६२ सालमा उनलाई ७६ लाख ५७ हजार ३ रुपियाँ जरिवाना गर्नुपर्ने फैसला गरेको थियो।


फैसलापछि उनी जरिवाना नतिरी फरार थिए।


प्रहरीले आजै उनलाई काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो। जरिवाना तिर्न नसकेपछि उनलाई हाल डिल्लीबजार कारागार चलान गरिएको छ। -नागरिक