न्युयोर्क – इन्टरनेटलाई ढाकेपछि विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ वेवसाइट फेसबुकले आइपीओ (इनिसियल पब्लिक अफरिङ)को माध्यमबाट पाँच अर्ब डलर जुटाउने योजना बनाएको छ।
फेसबुकले दस अर्ब डलरसम्म जुटाउने घोषणा गर्ने विशेषज्ञहरूले अनुमान गरेका थिए। अनुमानितभन्दा आधा धन जुटाउने घोषणाको वावजुद फेसबुकको सेयर बिक्री कुनै इन्टरनेट कम्पनीको अहिलेसम्मकै सबैभन्दा प्रारम्भिक पब्लिक इश्यू (अर्थात् आइपीओ) हुन सक्ने आशा गरिएको छ।
आठ वर्षको फेसबुकलाई हावर्ड युनिभर्सिटीका छात्रले सुरु गरेका थिए। यो वेवसाइटको लगभग ८४ करोड ५० लाख प्रयोगकर्ता छन्। फेसबुकले पछिल्लो वर्ष एक अर्ब डलरको नाफा कमाएको थियो।
आफ्नो सेयर निकाल्ने योजनालाई मूर्त रुप दिनका लागि फेसबुकले अमेरिकी सेयर बजार बन्द भएपछि सेयार बजारको नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमीसनसँग आवश्यक दस्तावेज जम्मा गरेको थियो।
फेसबुकको तर्फबाट जम्मा गरिएको दस्तावेजमा पहिलो पटक केही यस्तो जानकारी गराइएको थियो जसका बारेमा विशेषज्ञहरू अहिलेसम्म अनुमानमै सिमित थिए।
सन् २०११ मा यसको कूल आय ६५ प्रतिसत वृद्धि भएर एक अर्ब डलरसम्म पुगेको थियो भने यस वर्ष कूल आम्दानी ३ दसमलव ७१ अर्ब डलर भएको जानकारी कम्पनीबाट गराइएको थियो।
फेसबुकको मूल्य लगभग सय अर्ब डलरसम्म हुनसक्ने बताइएको छ। त्यतिकै मूल्यको अन्य अमेरिकी कम्पनीमा अमेजन र म्याकडोनाल्ड पनि छन्।
– एजेन्सी