
दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले विभिन्न सेवाहरुको महशुल दरमा छुट, नयाँ महशुल निर्धारण, महशुल दर परिमार्जन एवं जरिवाना मिनाहा लगायतका योजना सार्वजनिक गरेको छ । स्थापनाको आठौं वार्षिकोत्सवको अवसरमा टेलिकमले नयाँ योजना सहित महशुल दरमा छुट योजना सार्वजनिक गरिएको हो ।
जस अनुसार भिडियो कुराकानी गर्न सकिने थ्रीजी प्रिपेड सिमकार्ड तीन सय रुपैयाँमा नै प्राप्त गर्न सकिने छ । पहिले एक हजार पाँच सय रुपैयाँको थ्रीजी सिमकार्डलाई तीन सय रुपैयाँमा नै उपलब्ध गराउने घोषणा गरिएको हो । यस्तै सिडिएमएबाट उच्च गतिमा चलाउन सकिने इन्टरनेट सेवाको शूल्क दुई हजार पाँच सयबाट घटाएर तीन सय रुपैयाँमा नै दिने प्रबन्ध निर्देशक अमरनाथ सिंहले जानकारी दिनुभयो ।
टेलिकमले सिडिएमए, ल्याण्डलाइन फोनको नयाँ जडानमा छुट लगायतका विभिन्न योजना पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सवमा प्रबन्ध निर्देशक सिंहले कार्य प्रणालीलाई चुस्त र पारदर्शी बनाउँदै कम्पनीको सेवा अझै बढि प्रभावकारी र गुणस्तरिय बनाउने बताउनुभयो । कार्यक्रममा सूचना तथा संचार राज्यमन्त्री सुरिता कुमारी शाहले टेलिकमको सेवा गुणस्तरिय र प्रभावकारी बनाई प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताउनुभयो ।
चालु आर्थिक वर्षको लक्ष्य अनुसार उपलब्धी हासिल हुने दाबी कम्पनीको छ । चालु आर्थिक वर्षमा कम्पनीको कुल राजश्व ३१ अर्ब र खुद नाफा १२ अर्ब पुग्ने लक्ष्य छ । हालसम्म टेलिकमको कुल ग्राहक संख्या ७३ लाख पुगेको कम्पनीले जनाएको छ ।