मध्यपुरथिमि नगरपालिकाले नगरक्षेत्रभित्र परम्परागत घर बनाउनेलाई सहयोगस्वरूप अनुदान प्रदान गर्ने

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाले नगरक्षेत्रभित्र परम्परागत घर बनाउनेलाई सहयोगस्वरूप अनुदान प्रदान गर्ने भएको छ ।

नगरपालिकाको पुरानो बस्तीक्षेत्रमा समेत नयाँ घर बन्दा परम्परागत शैलीलाई हटाएर आधुनिक घर बनाउने क्रम सुरु गरिएपछि नगरका पुराना बस्तीभित्र यस्ता परम्परागत घर जोगाउन नगरपालिकाले अनुदान कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद पाठकले बताए ।

पाठकले भने, ‘नगरभित्रका पुराना परम्परागत घर जोगाउन तथा नयाँ घर बनाउनेलाई समेत परम्परागत शैलीमा घर निर्माणमा प्रोत्साहन गर्न पुरानो बस्तीमा यस्ता घर निर्माण गर्दा घरको अगाडि लगाइने कलात्मक इाटा खरिदका लागि ५० प्रतिशत अनुदान र नक्सा पास गर्दा लाग्ने पुरै रकम छुट दिने व्यवस्था छ ।’

नगरलाई परम्परागत सहरका रूपमा विकास गर्न तथा पुराना घर भत्काएर नयाँ घर बनाउँदा पनि परम्परागत शैलीमै घर निर्माण हुन सकोस् भनेर यस्तो व्यवस्था गरिएको उनले बताए । रासस